काठमाडौं । सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता-२०२५ जेठको दोस्रो हप्ता सुरु हुने भएको छ ।
आयोजक सहिद स्मृति स्पोर्ट्स एकेडेमीले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
एकेडेमीले पाँच खेललाई समावेश गरेर सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता नै आयोजना गर्न लागेको हो । जेठ १२ गते सुरु हुने प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय टोली सहभागी हुनेछन् ।
सहभागी टोलीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब छन् ।
७ वटा महिला टिमलाई २-२ पोलमा विभाजन गरी लिग कम नक आउटको आधारमा प्रतियोगिता खेलाइने आयोजकले जनाएको छ ।
१९ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको ११ लाख रुपैयाँ आयोजकले आफैं जुटाउने र बाँकी खर्च नेपाल रग्बी संघको प्रायोजकबाट प्राप्त हुने जानकारी दिइएको छ ।
खेलाडीका लागि प्रतियोगिता भरि १ लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा गरिएको छ । च्याम्पियन टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५० हजार हात पार्नेछ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सञ्चालन हुने खेलहरुमा रग्बीसँगै ब्याडमिन्टन, तेक्वान्दो र फुटसल रहनेछन् । बाँकी खेलहरुको भने मिति घोषणा भएको छैन ।