आईपीएलमा आज बैंगलोरू र हैदराबाद भिड्दै

जेष्ठ ९, २०८२ |खेल ब्युरो
आईपीएलमा आज बैंगलोरू र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को ६५औँ खेलअन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोरू र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दैछन । लखनऊको इकानामा खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुनेछ ।

यसअघि यो खेल बैंगलुरूको एम. चिन्नास्वामी स्टेडियममा खेलिने तय भएपनि मौसमको खराबीका कारण इकाना स्टेडियममा सारिएको हो । यो स्टेडियममा यी दुई टिम पहिलोपटक आमनेसामने हुँदैछन ।

१२ खेलमा ८ जितसहित १७ अंक जोडेको आरसीबी यो खेल जित्दै क्वालिफानयर्सको नजिक पुग्ने लक्षमा हुनेछ । १२ खेलमा ९ अंक जोडेको एसआरएच यस अघिनै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । उसले युवा खेलाडीलाई मोका दिन सक्छ । दुबै टिम यस सिजन पहिलोपटक एकअर्काविरूद्ध खेल्दै छन ।

आईपीएल इतिहासमा यी दुई टिमबीच अहिलेसम्म २५ पटक प्रतिस्पर्धा भएको छ । जसमा एसआरएचले १३ र आरसीबीले ११ खेल जितेका छन । एक खेल बेनतीजा रहृयो ।

विराट कोहली यस सिजन आरसीबीका सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । बलिङतर्फ जोश हेजलवुड १८ विकेटसहित टिमका अग्रणी विकेट लिने खेलाडी हुन् । यद्यपि, उनले चोटका कारण अघिल्लो खेल गुमाएका थिए । उनी आज उपलब्ध हुने-नहुने विषयमा अझै आधिकारिक पुष्टि भइसकेको छैन ।

एसआरएचका लागि यो सिजन कुनै पनि ब्याटरले ४ सय रन बनाउन सकेका छैनन् । अभिषेक शर्माले ३ सय ७३ रन बनाएका छन । बलिङतर्फ हर्षल पटेलले १५ विकेट लिएका छन । 

ट्राभिस हेड लखनऊविरूद्धको खेलअगाडि कोरोना पोजिटिभ देखिएका थिए । उनी आज खेल्ने-नखेल्ने अझै निश्चित हुन सकेको छैन । ईशान मालिङ्गाले ५ खेलमा ९ विकेट लिएका छन । उनी हर्षल र कमिन्सपछि टिमका तेस्रो सफल बलर बनेका छन ।

इकाना स्टेडियममा कालो र रातो माटोबाट बनेका ९ वटा पीच भएका कारण ब्याटर वा बलर कसलाई मद्दत पुग्छ अनुमान गर्न कठिन हुने गर्छ ।