आईपीएल : जित्नै पर्ने दबाबमा दिल्ली, प्लेअफमा पुग्ने मुम्बईको लक्ष्य

जेष्ठ ७, २०८२ |खेल ब्युरो
आईपीएल : जित्नै पर्ने दबाबमा दिल्ली, प्लेअफमा पुग्ने मुम्बईको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ अन्तर्गत ६३औं खेलमा आज मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई स्वागत गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममाखेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुनेछ । 

दुवै टोली यो सिजन दोस्रोपटक भिड्दै छन । पहिलो भिडन्तमा मुम्बईले दिल्लीलाई १२ रनले हराएको थियो । दिल्ली क्यापिटल्सलाई प्लेअफको दौडमा रहिरह्न जित्नैपर्ने दबाब छ । उसले अहिलेसम्म १२ खेलमा ६ जित निकाल्दै १३ अंक जोडेको छ । यस खेलमा पराजित भए ऊ लिग चरणबाटै बाहिरिने छ । 

मुम्बईले १२ खेलबाट १४ अंक बनाइसकेको छ । आजको खेल जिते ऊ प्लेअफमा स्थान पक्का गर्ने छ । यो खेल हारेपनि उसका लागि १६ अंकसहित प्लेअफमा पुग्ने अर्को मौका बाँकी नै हुनेछ ।

आईपीएल इतिहासमा यी दुईबीच ३६ खेल भइसकेका छन । जसमा मुम्बईले २० र दिल्लीले १६ खेलमा जित हात पारेका छन । वानखेडेमा खेलेका १० मध्ये मुम्बईले ७ खेल जितेको छ ।

मुम्बईका लागि सूर्यकुमार यादव यस सिजन उत्कृष्ट र्फममा छन । उनले १२ खेलमा ५ सय भन्दा बढि रन बनाइसकेका छन भने टिमका टप स्कोरर समेत हुन् । 

रोहित शर्मा, कप्तान हार्दिक पाण्ड्या र सूर्यकुमारको प्रदर्शन टिमका लागि महत्वपूर्ण हुनेछ । बलिङतर्फ ट्रेन्ट बोल्ट सबैभन्दा सफल रहेका छन । जसप्रित बुम्रह पनि मुम्बईको बलिङ आक्रमणको प्रमुख हतियार हुन् ।

केएल राहुल दिल्लीका लागि यस सिजन सबैभन्दा बढी रन बनाउने ब्याटर हुन् । कप्तान अक्षर पटेल र स्पिनर कुलदीप यादव टोलीका प्रमुख स्पिन बलर हुन् । कुलदीपले टिमका लागि सबैभन्दा बढी विकेट लिएका छन ।

मुम्बईमा आज मौसम खराब रहने अनुमान गरिएको छ । मौसम विभागका अनुसार ८४ प्रतिशत वर्षाको सम्भावना छ । दिल्ली आजको खेल जित्नै पर्ने दबाबमा हुँदा मुम्बई जित सहित प्लेअफमा पुग्ने लक्ष्यमा हुनेछ । फ्यानहरूले आज रोमाञ्चक खेलको अपेक्षा गरेपनि वर्षा बाधक बन्ने खतरा पनि उत्तिकै छ ।