काठमाडौं । साउदी प्रो लिग च्याम्पियन अल-इत्तिहादले अल-शबाबविरुद्ध रोमाञ्चक जित हात पारेको छ । उपाधि जितेको पाँच दिनपछि अल-इत्तिहादले अल-शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
अल-इत्तिहादको जितमा मुसा डियाबीले दुई गोल गरे । खेल सुरू भएको ३० सेकेन्डमै डियाबीको सानदार प्रहारमार्फत् पाहुना टोली अल-इत्तिहादले सुरूआती अग्रता लिएको थियो ।
३४औं मिनेटमा स्टेफन बर्गविनको पासमा उनले खाली पोस्टमा बल प्रहार गर्दै ब्रेस पुरा गरे । पहिलो हाफको इन्जुरी समयमा यानिक कारास्कोले मुसाब अल जुयेरसाग मिलेर उत्कृष्ट गोल गरेपछि अल-शबाबले पुनरागमनको प्रयास गर्यो ।
५८औं मिनेटमा बर्गविनले अल-इत्तिहादका लागि तेस्रो गोल गरे । ६७औं मिनेटमा घरेलु टोलीका क्रिस्टियन ग्वान्काले दोस्रो गोल फर्काएपनि, अल-इत्तिहादले बाँकी समय सुरक्षित रूपमा खेल्दै ३-२ को जित हात पार्यो ।
लिग च्याम्पियन अल-इत्तिहादले ३३ खेलमा ८० अंक जोडेको छ । ३२ खेलमा ५७ अंक बनाएको अल-शबाब छौंटौं स्थानमा छ । अब अल-इत्तिहादले मे २६ मा दमाकविरुद्ध लिगको अन्तिम खेल खेल्नेछ । त्यसपछि मे ३० मा अल-कदि्सयाविरुद्ध साउदी किंग्स कपको फाइनल खेल्ने तालिका छ ।