काठमाडौं । काजाकस्तानकी चौथो वरियता प्राप्त खेलाडी एलेना राइबाकिनाले चीनकी वाङ जिन्युलाई सोझो सेटमा पराजित गर्दै स्ट्रासबर्ग इन्टरनेशनल टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन ।
राइबाकिनाले जिन्युविरूद्ध पहिलो सेट ६-१ र दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी हुन् । जिन्युलाई पराजित गर्न राइबाकिनाले एक घण्टाभन्दा थोरै समय लिइन् । उनी अन्तिम पटक सन् २०२० मा स्ट्रासबर्गमा प्रतिस्पर्धा गर्दा फाइनलसम्म पुगेकी थिइन् ।
फाइनलमा राइबाकिना, एलिना स्विटोलिनासँग पराजित भएकी थिइन् । अब राइबाकिना क्वार्टरफाइनलमा पोल्याण्डकी म्याग्दा लिनेटसँग भिड्ने छिन ।
यस्तै स्पेनकी तेस्रो वरियता प्राप्त पाउला बाडोसाले पनि क्वार्टरफाइनलमा स्थान बनाइन् । चेक गणराज्यकी मारी बुज्कोभा थाई इन्जुरीका कारण खेलबाट बाहिरिन बाध्य भएपछि बाडोसा अघि बढेकी हुन् ।
बुज्कोभाले खेलमा दुई पटक अग्रता लिएकी थिइन् तर ३-२ को अवस्थामा इन्जुरी टाइमआउट लिएकी थिइन् । त्यसपछि ३-३ को अवस्थामा उनले खेल परित्याग गरिन् ।
अब बाडोसाले क्वार्टरफाइनलमा आठौं वरियताकी रसियन लियुडमिला साम्सोनोभा वा फ्रेन्च वाइल्डकार्ड प्राप्त खेलाडी डियान पेरीमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छन ।