काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा अवरोध गरेको भए परिमार्जन गर्दै जाने बताउनुभएको छ । आज राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा पदभार सम्हाल्दै नवनियुक्त गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय भएको बताउनुभयो ।
मौद्रिक नीतिले तय गरेका विषयलाई सफल बनाउन र सुपरीवेक्षण बढाउन आफूले प्राथमिकता दिने पनि उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि एकदिन अगाडि मौद्रिक नीति ल्याउने र त्यसैमा सबैलाई जबरजस्ती सहमत गराउने परम्परा अन्त्य गर्ने उहाँले जानकारी दिनुभयो ।
बैंकहरूमा सर्वसाधारणका धेरै पैसा थुप्रिएकोले बैंकको क्षमता बढाउन आफूले काम गर्ने पनि गभर्नर पौडेलले बताउनुभयो ।
फरक प्रसंगमा उहाँले गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनमा अस्वीकृत हुनु आन्तरिक कुरा भएको बताउनुभयो ।
पदबहाली गरेपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएपछि बालुवाटारस्थित राष्ट्र बैंक पुगेर गभर्नर पौडेलले पद सम्हाल्नुभएको हो ।
सरकारले हिजो नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । शपथअघि नवनियुक्त गभर्नर पौडेल अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखापरेका समस्या समाधानमा गभर्नरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।