युरोपा लिगकाे उपाधिका लागि टोटनहम र म्यानचेस्टर युनाइटेड भिड्दै

जेष्ठ ७, २०८२ |खेल ब्युरो
युरोपा लिगकाे उपाधिका लागि टोटनहम र म्यानचेस्टर युनाइटेड भिड्दै

काठमाडौं । युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज दुई इंग्लिस क्लबहरू टोटनहम र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै छन । 

बिलबाओको एस्टाडियो दे सान मामेस मैदानमा खेल नेपाली समयअनुसार खेल राति पौने १ बजे सुरू हुनेछ । फाइनल खेलका लागी करिब ८० हजार समर्थकहरू मैदानमा पुग्ने अनुमान गरिएको छ । 

दुवै टोली प्रिमियर लिगमा निराशाजनक सिजनपछि कम्तीमा एउटा ट्रफी जित्दै सिजनको अन्त्य गर्न चाहन्छन् । टोटनहमले अन्तिम पटक सन् १९८४ मा युरोपा कप जितेको थियो । 

आज टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । टोटनहम आज विजयी भए उसले लिभरपुलसँग बराबरी गर्नेछन् । यस सिजन टोटनहमले युरोपा लिगमा १४ खेलमध्ये ९ जितेको छ । जुन क्लबको इतिहासमै सबैभन्दा धेरै हो ।

एन्ज पोष्टेकोग्लु को नेतृत्वमा टोटनहमले सेमिफाइनलमा बोडो ग्लिम्टलाई हराएर फाइनल यात्रा तय गरेको हो । डोमिनिक सोलान्केले सेमिफाइनलका दुबै लेगमा गोल गरेका थिए । 

उनले प्रतियोगितामा ५ गोल तथा ४ असिस्ट गरेका छन । कप्तान सन हृयुंग मिन पनि चोटमुक्त भएर टोलीमा फर्किएका छन । तर, प्रिमियर लिगमा भने टोटनहम १७ औं स्थानमा छ र २१ खेलमा पराजित भएको छ । यद्यपि, युनाइटेडविरुद्ध पछिल्ला ६ खेलमा अपराजित रहँदै यस सिजन ३ खेलमा तीनै जित दर्ता गरेको छ ।

यस्तै युनाइटेडले यो सिजन युरोपा लिगमा ३५ गोल गरेको छ । जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा धेरै हो । उसले एथ्लेटिक बिलबाओविरूद्ध सेमिफाइनलमा ७-१ को समग्र जित निकालेका थियो । त्यसअघि लियोनविरुद्ध ७-६ को नाटकीय जित हात पारेको थियो ।

कप्तान ब्रुनो फर्नान्डेस ७ गोलसहित गोल्डेन बुटको होडमा छन भने ११ गोलमा सिधा संलग्नता जनाएका छन । जुन कुनै पनि इग्लिस क्लबका लागी दोस्रो सर्वाधिक तथ्याङ्क हो । युनाइटेडका प्रशिक्षक रूबेन आमोरिम पहिलो सिजनमै ट्रफी जित्ने युनाइटेडका तेस्रो प्रशिक्षक बन्ने लक्ष्यमा छन । माटाइस डे लिग्ट, जोशुवा जिर्कजे र दियोगो डालट फाइनलअघि फिट भएका छन ।

दुवै क्लबको प्रिमियर लिग प्रदर्शन कमजोर भएपनि युरोपामा उनीहरूले देखाएको स्तर उच्च छ । त्यसैले बिलबाओमा हुने फाइनल निकै प्रतिस्पर्धात्मक र ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।