नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

जेष्ठ ७, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो ।

टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका रूपमा ग्लोबल छनोटमा पुगेको थियो । यसअघि नेपालले युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । 

नेपाल पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । 

समूह चरणमा नेपाल र हङकङको समान अंक रहेपनि नेपाल बढी खेल जितेको आधारमा समूह सीको विजेताका रूपमा सुपर थ्रीमा पुगेको थियो । ग्लोबल क्वालिफायर्सका शीर्ष चार टोलीहरू इङ्गल्याण्ड र वेल्समा सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी-२० आई विश्वकपमा स्थान बनाउने छ । 

विश्वकपमा आयोजक टोली इङ्गल्याण्डसहित अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका सिधै छनोट भइसकेका छन । ग्लोबल क्वालिफायर्समा बंगलादेश र स्कर्टलयान्डसहित अमेरिका छनोटबाट अमेरिका र एसिया छनोटबाट थाइल्यान्ड र नेपालले स्थान बनाइसकेका छन् । 

युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिक छनोटबाट आउने ५ टोलीको टुङ्गो लाग्न बाँकी छ । ग्लोबल क्वालिफायर्सको आयोजक राष्ट्र र खेल तालिका सार्वजनिक हुन बाँकी रहदा नेपालले पनि आयोजना अधिकारका लागी बोली लगाउने तयारी गरेको छ ।