काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नमथलाई ३-१ ले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस जितसँगै सिटीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न आफुलाई बलियो स्थितिमा पुर्याएको छ ।
एतिहाद स्टेडियममा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । केभिन डि ब्रुयनेले सिटीको तर्फबाट अन्तिम घरेलु खेले भने रोड्री चोटपछि पहिलोपटक मैदान फर्किए ।
ओमार मारमुसले सुरुवातमै उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले खेलको १४औं मिनेटमा गोल गरेका हुन् । लगत्तै डि ब्रुयनेले पाँच यार्डको दूरीबाट गोल गर्ने राम्रो अवसर गुमाए । पहिलो हाफको अन्त्यतिर बर्नार्डो सिल्भाले अग्रता सिटीको अग्रता दोब्बर बनाए ।
६७औं मिनेटमा माटेओ कोभासिचकले रातो कार्ड बेहोरेपछि सिटी दबाबमा आएको थियो । ७३औं मिनेटमा बर्नमथका लुइस कुकले निको गोनजालेसमाथि गरेको फाउलपछि दुवै टोली फेरि १० खेलाडीमै सिमित भए ।
८९औं मिनेटमा निकोले तेस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे । रोड्रीको पुनरागमनपछि सिटी अझै बलियो देखिएको थियो । बर्नमथका लागि ड्यानियल जेबिसनले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए ।
अब सिटीले आइतबार लिगको आफ्नो अन्तिम खेलमा फुलहमविरुद्ध जित निकाल्न सके वा बराबरी मात्र खेलेपनि अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ । सिटीको ३७ खेलमा ६८ अंक छ । समान खेलमा ५३ अंक सहित बर्नमथ ११ औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई ४-२ गोल अन्तरले पराजित गर्यो ।