काभ्रे । बनेपामा अवैधरूपमा सुन र चाँदीका गहना निर्माण तथा बिक्री वितरण गर्दै आएको गिरोह पक्राउ परेको छ । विदेशी नागरिकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आज बिहान ११ बजे बनेपा नगरपालिका–७, परिवार नियोजन चोकमा रहेको ‘मनकामना ज्वेलर्स एन्ड मेकिङ सेन्टर’ मा प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा उक्त ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल राज्य, मदनपुर जिल्ला, पसवाई ग्राम पञ्चायत, दासपुर थानाका ४७ वर्षीय दिपंकर मैतीकाे कोठाबाट ६७८.८३ ग्राम सुन जस्तो देखिने पहेंलो धातु, भारतीय रुपैयाँ २५ हजार ३१० र नेपाली रुपैयाँ १ लाख २१ हजार ५ बरामद गरिएको छ ।
त्यसैगरी, अवैध क्रियाकलापमा संलग्न भारत पश्चिम बंगाल, मेदिनिपुर, निजामपुर घर भई पाँचखाल नगरपालिका–४ बस्ने ३० वर्षीय सुमन सासमोलको साथबाट २३.०८ ग्राम सुनजस्तो धातु , बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय ऋषिकेश गोड्सेको कोठाबाट ३२७.७५० ग्राम चाँदीजस्तो धातु फेला परेको छ ।
त्यस्तै, प्रहरीका अनुसार स्थायी ठेगाना नखुलाइएका २२ वर्षीय विजय घोराई र ३८ वर्षीय दिपंकर साउलाई पनि पक्राउ गरिएको छ । बरामद सामान र पक्राउ परेका सबै व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता घलेले जानकारी दिनुभयो ।