संसदीय समितिमा माइक हानाहान र भनाभनमा उत्रिए सांसद, संसदीय गरिमाकै अवमूल्यन

जेष्ठ ७, २०८२ |अञ्जना लामिछाने
संसदीय समितिमा माइक हानाहान र भनाभनमा उत्रिए सांसद, संसदीय गरिमाकै अवमूल्यन

काठमाडौं । संसदीय समितिमा सांसदहरूले मर्यादा भुलेर प्रस्तुत हुन थालेका छन् । सांसदहरूबीच आज माइक हानाहान र बाझाबाझ नै भएको छ । महिला समितिमा माइक हानाहान भयो भने लेखा समितिमा भनाभनको स्थिति उत्पन्न भयो । सांसदहरू मर्यादा भुलेर प्रस्तुत भएपछि बैठक नै अस्तव्यस्त बन्ने अवस्था बन्यो ।

सार्वजनिक लेखा समितिको बुधबार १ बजे बस्ने बैठकको कार्यसूची थियो- उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको भनेर बुझाएको प्रतिवेदनमाथि छलफल । प्रतिवेदन बुझाएदेखि नै नेकपा एमालेका सांसदहरुले उपसमितिको प्रतिवेदन पूर्वाग्रहका आधारमा बनाइएको आरोप लगाँउदै आएका थिए । बुधबार बसेको बैठकमा पनि सुरुमै एमालेका सांसदहरूले प्रतिवेदन त्रुटीपूर्ण भएको भन्दै नीतिगत निर्णय गर्नेहरू सबैको नाम उल्लेख गरेर मात्रै सम्बन्धित निकायमा अनुसन्धानका लागि पठाउन आग्रह गरे ।

एमालेकै सांसद गोकुल बाँस्कोटाले प्रतिवेदनमा आफ्नो पुरक प्रश्न रहेको भन्दै अझै छलफल गर्नुपर्ने बताउनुभयो । सत्तापक्ष नेपाली कांग्रेसकै सांसदहरूले पनि प्रक्रियागत रूपमै भ्रष्टाचार भएको भन्दै अब अख्तियारलाई नै अनुसन्धान गर्न पठाउनुपर्ने बताए ।

त्यसपछि विपक्षी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्षकै सांसद लेखा समितिको सभापति रहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले एमालेकै सांसद समिति सभापति, प्रधानमन्त्री र एमालेक मै फरक मत राखेको भन्दै गम्भीर विषयलाई एमालेले नै गिजोलिरहेको आरोप लगाएपछि बैठक तनावपूर्ण बन्यो । एमाले र माओवादीका सांसदबीच भनाभन नै भयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभापतिले एमालेका सांसदलाई मात्रै बोल्न दिएको भन्दै आपत्ति जनाउनुभयो ।

स्थिति केही सामान्य बन्न लागेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका असीम शाहले भैरहवा विमानस्थलमा सार्वजनिक रूपमा प्रश्न उठेको व्यक्ति मञ्जु खाणलाई संयोजक तोकेको भन्दै आपत्ति जनाएपछि बैठक फेरि तनावपूर्ण बन्यो । स्वार्थ बाझिने भन्दै भैरहवा विमानस्थलको अध्ययन गर्न बनेको उपसमितिको संयोजकबाट योगेश भट्टराई बाहिरिएपछि कांग्रेस सांसद मञ्जु खाणलाई संयोजक तोकिएको थियो ।

सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबीच भ्रष्टाचारमा संलग्न देखिएकाहरूको सुझाव लिने वा नलिने र अख्तियारलाई छानबिन गर्न पठाउने निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भयो । अन्तत: समितिले थप अध्ययन गरी पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्न अख्तियारलाई पठाउने निर्णय गरेको छ ।

बुधबार नै बसेको महिला समितिको बैठकमा पनि सांसदहरूबीच माइक हानाहान भएको छ । माओवादी केन्द्रकी सांसद कल्पना मिया कुसारीले समितिका सभापति किरण शाहलाई लक्षित गरी माइक र नेमप्लेट प्रहार गर्नुभएको हो । बुधबार मात्रै होइन यसअघि पनि संसदीय समितिहरूमा सांसदहरूले मर्यादा विपरीतका गतिविधि देखाउँदै आएका छन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।