हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ लिमीको तिल गाउँमा पहिरो गएको ७ दिनपछि राहतसहितको सरकारी टोली पुगेको छ । पहिरोले क्षतविक्षत तिल गाउँका स्थानीयका लागि नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाको नेतृत्वमा राहतसहितको सरकारी टोली आज तिलगाउँ पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।
७ दिनदेखि खोलाको धमिलो पानी खाएर बसेका पहिरोपीडितका लागि केही थान खानेपानीको पाइप समेत पुर्याइएको छ । पहिरोपछि त्रिपालमा बस्दै आएकाहरूलाई स्थानीय हिमशिखर आधारभूत विद्यालयमा पाल टाँगेर बस्ने व्यवस्था गरिएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
पहिरोपीडितहरू दिनभर काम गर्ने र राति पालमा गएर सुत्ने गर्दै आएका छन् । १८ घरधुरीका ३२ जनालाई सो स्थानमा अस्थायी वासको व्यवस्था गरिएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले जानकारी दिनुभयो । तिल गाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा पहिरो आउँदा तीस हल खेतीयोग्य उवा छरेको जमिन र विद्युत्को पावर हाउस पूर्णरूपमा बगाएको छ ।
सो पहिरो तिल गाउँमाथिको कान्जी हिमालबाट आएको जनाइएको छ । हिमताल दबिएर आएको पहिरोबाट सिँचाइ कुलोलाई पनि पूर्ण रूपमा क्षति पुगेको छ । खानेपानीको लाइनमा क्षति पुगेपछि गाउँमा खानेपानीको पनि समस्या भएको छ।
पहिरोले बगाएपछि तिल गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अवरोध भएको छ । हिल्साबाट सशस्त्र र नेपाल प्रहरीको टोली तिल गाउँ आई क्षतिको विवरण समेत लिइसकेको छ ।