मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुनसक्ने

जेष्ठ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुनसक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । आज विशेष मौसम बुलेटिन जारी गर्दै विभागले अधिकतम तापक्रम र न्युनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने जनाएको हो ।

विभागले कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको जनाएको छ । यसैगरी, मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भूभागमा हुने सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।

यस्तै, अधिकतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.