काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा चेन्नई सुपर किङ्सले १०औं हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।
दुबै यसअघिनै प्लेअफ दौडबाट बाहिरिसकेका टोली हुन् । राजस्थानका लागि यो लिगको अन्तिम खेल थियो । अरूण जैटली स्टेडियममा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पारेको थियो ।
चेन्नईका ओपनर डेभोन कोनवे १० रनमा र उर्भिल पटेल खाता नखोली पेवलियन फर्कदा चेन्नईको खातामा दोस्रो ओभरको समाप्तीमा केवल १२ रन मात्र थियो । आयुष महात्रे र रविचन्द्रन आश्विनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे ।
आयुषले ४३ रनको इनिङ्स खेले । आश्विन १३ रनमा बाहिरिए । डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रनको योगदान दिए । शिवम दुबेले ३९ र कप्तान महेन्द्रसिंह धोनीले १६ रन बनाए । राजस्थानका लागि आकाश मधवाल र युद्धवीर सिंहले समान ३-३ विकेट लिए ।
जवाफमा १ सय ८८ रनको लक्ष्य राजस्थानले १७ ओभर १ बलमा४ विकेट गुमाएर पुरा गर्यो । ओपनर यशस्वी जैसवालले ३६ रनको योगदान दिए । दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान सञ्जु सामसनले ९८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।
सञ्जुले ४१ रन बनाएर आउट भए । वैभवले उनले ३३ बलमा समान ४ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । धुर्व जुरेल ३१ र सिम्रोन हेटमेर १२ रनमा अविजित रहे । चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए ।
राजस्थानले १४ खेलमा ८ अंकसहित लिग समाप्त गरेको छ । उ लिगको नवौं स्थानमा छ । १३ खेलमा ६ अंक जोडेको चेन्नई १३ खेलमा ६ अंक सहित पुछारमा छ । उसले लिगको आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग खेल्न बाँकी छ । सो खेल जितेपनि नेट रन रेटमा पछि पर्दै चेन्नईले पुछारमै लिग समाप्त गर्ने सम्भावना अधिक छ ।