काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोयल्सले दोस्रो जित हात पारेको छ ।
लिग अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोयल्सले सामाखुशी युवा क्लबलाई ९३-८३ ले पराजित गरेको हो ।
सुरुवातदेखि नै अग्रता लिएको रोयल्सले त्यसलाई अन्तिमसम्म कायम राख्दै जित निकालेको हो । दोस्रो जितपछि रोयल्सले ४ खेलबाट ६ अंक जोडेको छ । सामाखुशीको यो लगातार चौथो हार हो ।
रोयल्सले पहिलो क्वार्टरमा १८-१७ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टर २८-१९ ले आफ्नो पक्षमा पारेपछि रोएल्सले हाफ टाइमसम्म ४६-३६ को अग्रता बनाएको थियो ।
तेस्रो क्वार्टरमा सामाखुशीले पुनरागमन गर्दै २४-२१ को नतिजासहित खेलमा फर्कने प्रयास गरेको थियो । तर, चौथो क्वार्टर रोयल्सले २६-२३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
रोयल्सका लागि प्रसाङ ध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । सामाखुशीका लागि विक्रम डंगोलले २० अंक स्कोर गरे ।