धुलिखेलमा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई १५ लाख र रोजगारी दिने सहमति

जेष्ठ ४, २०८२ |पुजन धिताल
धुलिखेलमा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई १५ लाख र रोजगारी दिने सहमति

काभ्रे । धुलिखेलमा करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीका एक युवकका परिवारलाई क्षतिपूर्ति तथा राहत दिने सहमति भएको छ । 

घटनापछि सरोकारवाला निकायबीचको समन्वयबाट पीडित परिवारलाई ठेकदार कम्पनीबाट १० लाख रुपैयाँ र नेपाल विद्युत प्राधिकरणबाट न्यूनतम ५ लाख रुपैयाँ नगद प्रदान गर्ने तथा मृतकका परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भएको हो ।

हिजो, धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको क्षेत्रमा कार्यरत उपेश परियारको ११ हजार भोल्टको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक परियार ईश्वरपुर नगरपालिका–१२, घारिबथान सर्लाहीका स्थायी बासिन्दा हुन् । अन्दाजी २८ वर्षका परियार कामको सिलसिलामा धुलिखेलमा थिए ।

दुर्घटनापछि स्थानीयबासी तथा पीडित परिवारले क्षतिपूर्ति र न्यायको माग गर्दै आवाज उठाएका थिए । सोही क्रममा स्थानीय प्रशासन, विद्युत प्राधिकरण, निर्माण कम्पनी र पीडित पक्षबीच भएको छलफलबाट क्षतिपूर्ति तथा राहतमा सहमति भएको हो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।