काठमाडौं । श्री टुसाल क्लब सहिद स्मारक बी डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । आज दशरथ रंथगशालामा भएको खेलमा झापा फुटबल क्लबसँग २-० ले पराजित भएर टुसाल रेलिगेसनमा परेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी बनेको थियो । तर, दोस्रो हाफमा प्रदीप बुढाथोकीले २ गोल गरेर टिमलाई जित दिलाएका हुन् । खेलको ५९औं मिनेटमा प्रदीपले झापालाई अग्रता दिलाएका थिए ।
१-० मा समाप्त हुन लागेको खेलमा प्रदीपले नै स्टपेज समयमा गोल गरेर झापालाई २-० को जित दिलाए । आजको हारसँगै टुसालले एक खेल बाँकी रहँदा १२ खेलबाट ११ अंक बनाएको छ । उसले अबको खेल जिते पनि पुछारको दुई स्थानमै लिग अन्त्य गर्ने भएपछि रेलिगेसनमा परेको हो । विजेता बनेको झापा फुटबल क्लबले भने तेस्रो स्थानमा पुग्ने सम्भावना जिवितै राखेको छ ।
आजै भएको अर्को खेलमा जित हात पारेर मध्ययपुर युथ एसोसिएसन रेलिगेसनबाट जोगिएको छ । उसले बाँसबारी युवा क्लबलाई १-० ले हराएको हो । पहिलो हाफमा दुवै टिमले गोल गर्न नसके पनि साहिल केसीले ६५औं मिनेटमा गोल गर्दै मध्यपुरलाई जित दिलाए ।
गोलकिपरले दिएको बललाई डिफेन्डरले जोगाउन नसकेपछि रुजित पुडासैनीले दिएको पासमा साहिलले बक्सभित्रबाट गोल गरेका हुन् । आजको जितसँगै मध्यपुरले १२ खेलमा १५ अंक बनाएको छ । बाँसबारीको पनि १५ अंक नै छ । यसअघि नै नयाँबस्ती क्लब भने सी डिभिजनमा घटुवा भइसकेको छ ।