काठमाडौं । केही समययता बिजुली झ्याप्प-झ्याप्प जान थालेपछि आमनागरिकले प्रश्न गर्न थालेका छन्-के लोडसेडिङ हुन लागेको हो ? नभए किन जान्छ बिजुली पटक-पटक ? आमनागरिक मात्रै होइन, 'लोडसेडिङ फर्किन लागेको हो ?' भनेर सांसदहरुले संसद्मा समेत प्रश्न गर्न थालेका छन् । विद्युत प्राधिकरणले भने पर्याप्त बिजुली हुँदा पनि वितरण लाइनमा आएको समस्याले बिजुली दिन नसकेको भन्दै बचाउ गरेको छ । बिजुली जाने समस्याले सर्वसाधारण मात्रै होइन, उद्योगी-व्यवसायीसमेत हैरान छन् ।
गर्मी बढेसँगै झ्याप्प-झ्याप्प बिजुली जान थालेपछि सर्वसाधारणदेखि सदनमा सांसदसम्मले विद्युत प्राधिकरणको वर्तमान नेतृत्वमाथि प्रश्न उठाउन थालेका छन् । कुलमान घिसिङको बहिर्गमनसँगै बिजुली जाने क्रम बढेको हो कि भन्ने आशंका सबैको हुने गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद शुसिला श्रीपाली ठकुरीले कुलमान हटाउँदा यस खालको समस्या आएको दाबी गर्नुभयो । यस्तै, जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले फेरि लोडसेडिङ दोहोरिन लागेको भनेर आशंका व्यक्त गर्नुभयो ।
तर, प्राधिकरण भने लोडसेडिङ नभई वितरण प्रणालीमा आएको समस्या भन्दै आश्वस्त पार्न खोजिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भन्नुहुन्छ, 'हावाहुरीका कारण वितरण लाइनमा समस्या आएको र गत बिहीबार भारतबाट बिजुली आउने ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनमा समस्या आएकाले बिजुली जाने समस्या देखिएको हो ।'
घिसिङ बाहिरिएसँगै केही कर्मचारीको सरुवा भए पनि त्यसको असर नपरेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । शाक्यले विद्युत भार प्रेसर केन्द्रको प्रमुख नै परिवर्तन गर्नुभएको छ । तर, बिजुली पटक-पटक जाने समस्याका कारण सर्वसाधारण मात्रै होइन, उद्योगीसमेत आजित भएका छन् ।
विद्युत प्राधिकरणको तथ्यांक अनुसार बिजुली जाने समस्या गत वर्षको तुलनामा बढेको होइन । गत आर्थिक वर्षमा ६६ पटक लाइन गएकोमा यो वर्षको जेठ २ गतेसम्म ५० पटक गएको छ ।
अहिले बिजुलीको उच्च माग हुने समयमा २१ सय ५० मेगावाट बराबरको माग छ भने स्वदेशी आयोजनाबाट १७ सय मेगावाट उत्पादन भइरहेको छ । ५५ मेगावाट भारतबाट ल्याउँदा पनि माग पूरा नभएपछि उद्योगमा करिब ४ सय मेगावाट बिजुली कटौती गर्ने गरिएको छ ।