महिला एकलतर्फ इटालियन ओपन टेनिसको उपाधि इटालीकी ज्याज्मिन पाउलोनीलाई

जेष्ठ ४, २०८२ |खेल ब्युरो
महिला एकलतर्फ इटालियन ओपन टेनिसको उपाधि इटालीकी ज्याज्मिन पाउलोनीलाई

काठमाडौं । इटाली ४० वर्षपछि पहिलो पटक महिला एकलतर्फ इटालियन ओपन टेनिसको च्याम्पियन बनेको छ ।

रोममा गएराती भएको फाइनलमा स्थानिय खेलाडी ज्याज्मिन पाउलोनीले अमेरिकाकी कोको गौफलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । 

राष्ट्रपति सर्जियो माटारेला सहित घरेलु समर्थकको साथ पाएकी पाउलोनीले पहिलो सेट ६-४ ले जितेकी थिइन् । दोस्रो सेटमा पनि चौथो वरियताकी गौफले पुनरागमन गर्न सकिनन् । 

छैटौं वरियता प्राप्त पाउलोनीले ६-२ को जीतका साथ इतिहास रचेकी हुन् । गत वर्ष अप्रत्यासित रूपमा फ्रेन्च ओपन र विम्बल्डनको फाइनल पुगेकी पाउलोनीले गौफ विरुद्धको खेल एक घन्टा २९ मिनेटमा टुंग्याएकी थिइन् । 

यसअघि भएका दुई भेटमा गौफ हाबी भएकी थिइन् । तर, ती दुबै खेल हार्ड कोर्टमा भएका थिए । पाउलोनीको करियरको यो दोस्रो डब्लु टि ए थाउजेन्ड र समग्रमा डब्लु टि ए एकलमा तेस्रो उपधि हो । 

क्ले कोर्टमा भने उनी पहिलो पटक च्याम्पिन बनिन् । सन १९८५ मा रफाएला रेड्गी पछि इटालीका लागि यो प्रतियोगिताको उपाधि जित्ने पाउलोनी पहिलो महिला खेलाडी बनिन् ।  

यस्तै १९३० मा इटालियन ओपन सुरू भएयता च्याम्पियन हुने उनी समग्रमा केवल चौथों इटालीयन खेलाडी हुन् । जितपछि २९ वषिर्य पाउलोनीले बाल्यकालमा समर्थकका रूपमा प्रतियोगिता हेर्न आउँदा देखी च्याम्पियन बन्दा सम्मको यात्रा कल्पना भन्दा बाहिरको भएको प्रतिृकया दिइन् । 

आफ्नो हातमा ट्रफी छ भन्ने विश्वासनै नभएको उनको भनाइ थियो । सोमबार नया वरियता सार्वजनिक हुदा पाउलोनी शीर्ष चारमा उक्लेनिछन् । उनी र सारा एरानीले डबल्स तर्फको उपाधीका लागि पनि प्रतिस्पर्धा गर्नेछन् । 

पुरूष एकल तर्फको फाइनलमा इटालीकै यानिक सिनर र स्पेनका कार्लोस अल्काराजबीच आज प्रतिस्पर्धा हुदैछ ।