क्लबको १६४ वर्षको इतिहासमा क्रिस्टल प्यालेसलाई पहिलो मुख्य प्रतियोगिताको उपाधि

एफए कप फाइनलमा म्यानेचस्टर सिटीमाथि जित
जेष्ठ ४, २०८२ |खेल ब्युरो
क्लबको १६४ वर्षको इतिहासमा क्रिस्टल प्यालेसलाई पहिलो मुख्य प्रतियोगिताको उपाधि

काठमाडौं । क्रिस्टल प्यालेसले पहिलो पटक एफ ए कपको उपाधि जित्दै इतिहास रचेको छ । गएराती भएको फाइनलमा प्यालेसले म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गर्यो ।

क्लबको एक सय ६४ वर्षको इतिहासमा प्यालेसले जितेको यो पहिलो मुख्य प्रतियोगिता उपाधि हो । वेम्ली स्टेडियममा सिटीले सुरूवातमै गोलको अवसर सिर्जना गरेपनि सफल भएन् । 

प्यालेस गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट प्रदर्शन गर्दै सिटीलाई निराश पारेका थिए । १६औं मिनेटमा स्थानिय खेलाडी इबेरी एजीले गोल गरेपछि प्यालेस खेलमा १-० गोलको अग्रता लिन सफल भयो । 

उनले ड्यानियल मुनोजको क्रसमा गोल गरेका हुन् । प्यालेसले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा एजी र गोलकिपर हेन्डरसनको प्रदर्शन महत्वपुर्ण रह्यो । एजीले क्वाटरफाइनल र सेमीफाइनलमा पनि गोल गरेका थिए । 

दबाबमा रहेको सिटी प्यालेस गोलकिपर हेन्डरसनलाई रातो कार्ड नदिएपछि आक्रोशित बनेको थियो । अर्लिङ हालान्डको प्रयासमा हेन्डरसनबाट आफ्नो एरिया भन्दा बाहिर आएर ह्यान्ड बल गरेको सिटीको भनाइ थियो । 

तर, भिडियो असिस्टेन्ट रेफ्रिको परिक्षणले त्यस्तो देखाएन् । ३६औं मिनेटमा सिटीले बराबरी गोल फर्काउने सुनौलो अवसर पायो । प्यालेसका टाइरिक मिचेलले बर्नान्डो सिल्भालाइ फाउल गरेपछि सिटीले पेनाल्टिको अवसर पायो । 

पछिल्ला सात पेनाल्टि मध्ये तीनमा चुकेपछि हालान्ड पछि हटे । ओमार मारमोसको पेनाल्टि प्रहार हेन्डरसनले बचाएपछि सिटी समर्थक स्तब्ध बनेका थिए । सिटी बल पोसेसनमा अघि रहेपनि ओलिभर ग्लास्नरको टिम प्यालेस डिफेन्डमा अब्बल देखियो । 

हेन्डरसनले दोस्रो हाफमा पनि आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदा एजीको गोलनै प्यालेसका लागि इतिहास रच्न निर्णायक बन्यो । उसको अर्को गोल भने अफसाइड भएको थियो । प्यालेस तेस्रो प्रयासमा एफ ए कप च्याम्पियन बनेको हो । 

यसअघि उसले सन १९९० र २०१६ मा उपाधी गुमाएको थियो । यस्तै ओलिभर एफ ए कप जित्ने पहिलो अस्ट्रियन प्रशिक्षक बनेका छन । उनले १५ महिना अघि मात्र टिमको नेतृत्व सम्हालेका हुन् । 

खराब सुरूवात गरेका उनले अक्टोबरको अन्तिम सम्म प्यालेस प्रिमियर लिगमा जितविहिन थियो । सिटी भने पेप ग्वार्डिवालाले २०१६-१७ को सिजनमा प्रशिक्षण सम्हाले यता पहिलो पटक सिजनमा उपाधि विहिन बनेको छ ।