काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले भोलि यूएईसँग प्रतिस्पर्धा गर्दैछ । थाल्यान्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ ।
यदि, नेपालले भोलिको खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । यसअघि ग्लोबल छनोटमा पुग्न नसकेको नेपालसामु भोलि बिहान यूएईलाई हराएर अर्को चरणमा पुग्ने अवसर छ ।
एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आज भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो ।
भोलि यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ । यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ ।
यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो । त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो ।
नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ । अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो ।
नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो । एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो ।