काठमाडौं । भारत र पाकिस्तान बीचको सिमा विवाद पछि एक साता रोकिएर पुन: सुचारू भएको इन्डियन प्रिमियर लिग-आईपीएललाई वर्षाले खराब पारिदिएको छ ।
गएराती रोयल च्यालेन्जर्स बैङलुरू र कोलकात्ता नाइट राइडर्स बीचको खेल पानीका कारण रद्ध भयो । आरसिबीको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा हुनु पर्ने खेलमा टस नै हुन सकेन् ।
यो खेलमा अधिकांश समर्थक सेतो जर्सीमा उपस्थित भएका थिए । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछिको पहिलो खेल हेर्न प्रतिक्षारत समर्थक पानीका कारण निराश बने ।
साविक विजेता कोलकात्ताका लागि यो खेल महत्वपुर्ण रहेको थियो । अजिंक्या रहाणेको टिम प्ले अफको आशा जीवीतै राख्न जित्नै पर्ने दबाबमा थियो । तर, लगातारको भारी वर्षाले खेल विथोलिदा कोलकात्ता जारी सिजन प्रतियोगिताबाट बाहिरिने चौथो टिम बन्यो ।
कोलकात्ता १३ खेलबाट १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । अब उसले लिगमा एक खेल खेल्न बाँकी छ । सो खेल जितेमा उसको अधिकतम १४ अंक मात्र हुनेछ । यसअघिनै तीन टिमले १४ अंक पार गरिसकेको हुँदा कोलकाताको यात्रा लिग चरणमै समाप्त भएको हो ।
आरसिबी भने १२ खेलबाट १७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आरसिबीलाइ अब बांकी दुई खेलबाट मात्र एक अंक भए प्ले अफ पुग्न पर्याप्त हुनेछ ।
तर, आरसिबी शत प्रतिशत नतिजाका साथ शीर्ष दुईमा रहँदै लिग टुंग्याउने लक्ष्यमा हुनेछ । आरसिबीले पछिल्लो पटक सन २०१६ मा शीर्ष दुई स्थान प्राप्त गरेको थियो । दोस्रो स्थानमा रहेको गुजरात टायटन्सको ११ खेलबाट १६ तथा तेस्रो स्थानको पञ्जाब किंग्सको १५ अंक छ ।
चौथों स्थानमा रहेको मुम्बई इन्डियन्सको १२ खेलबाट १४ अंक छ । आईपीएलमा आज दुई खेल हुनेछन् । दिउँसो पौने चार बजे प्ले अफबाट बाहिरिसकेको राजस्थान रोयल्स र पञ्जाब तथा साँझ पौने ८ बजे दिल्ली क्यापिटल्स र गुजराजत आमने सामने हुनेछन् ।