भैरहवा विमानस्थलको अनियमितता छानविन गर्न गठित संसदीय उपसमितिको संयोजक सांसद मञ्जु खाँण

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भैरहवा विमानस्थलको अनियमितता छानविन गर्न गठित संसदीय उपसमितिको संयोजक सांसद मञ्जु खाँण

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचार छानविन संसदीय उपसमितिले कांग्रेस सांसद मञ्जु खाँणलाई संयोजक चयन गरेको छ ।

लेखा समिति अन्तर्गतको उपसमितिले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न अध्ययन गर्नेछ । उपसमितिको आजको बैठकले नै खाँणलाई संयोजक चयन गरेको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

यसअघि उक्त उपसमितिको संयोजक सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो । उपसमिति संयोजकका रूपमा प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गर्नुभएको थियो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको थियो । गौतम बुद्ध विमानस्थल निर्माणको लगानी सुरुमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको भनी प्रश्न उठेको छ ।

खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका कांग्रेस नेता बालकृष्ण खाँणकी श्रीमती हुनुहुन्छ । अख्तियारले २०८० सालमा खाँण दम्पत्तिमाथि भुटानी शरणार्थी प्रकरणमा छानविन थालेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.