काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसीया छनाेटमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको बैङककस्थित ट्रेडथाइ क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ बजेर ३५ मिनेटबा६ सुरु हुनेछ । नेपालका लागि, सुपर थ्रीमा पुग्ने आशा जिवीतै राख्न जित आवश्यक छ ।
समुह सी मा रहेको नेपाल तीन खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको हङकङको चार अंक छ । वर्षाका कारण बहराइनसंगको खेल हुन नसके नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आजको खेलमा जित हात पारे, सुपर थ्री यात्राका लागि नेपालले हङकङ र बहराइनबीच भोलि हुने खेलको नतिजा पनि कुर्नु पर्नेछ ।
अघिल्लो खेलमा हङकङसंग पराजित भएपछि नेपालले यसअघि नै सुपर थ्री पुग्ने सुनौलो अवसर गुमाएको हो । वर्षा प्रभावित खेल पाँच ओभरको भएको थियो । नेपाल ३० रनको लक्ष्य रक्षा गर्न नसक्दा कठिन अवस्थामा पुगेको छ ।
जारी प्रतियोगितामा बहराइसँगको पहिलो लेगमा नेपाल विजयी भएको थियो । सो खेल पनि पानी परेपछि ५ ओभरमा झारिएको थियो । ४२ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा चार ओभर दुई बलमा जित हात पारेको हो ।
बहराइन प्रतियोगिताबाट बाहिरिसकेको छ । तीन समुहका शीर्ष तीन टिम सुपर थ्री पुग्नेछन् । त्यहाँबाट शीर्ष दुईमा रहने टिमले ग्लोबल छनौटमा स्थान बनाउनेछन् ।