साफ अन्डर नाईन्टिन च्याम्पियनसिप : नेपालले आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दै

वैशाख ३०, २०८२ |खेल ब्युरो
साफ अन्डर नाईन्टिन च्याम्पियनसिप : नेपालले आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । भारतमा जारी साफ अन्डर नाईन्टिन च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो दोस्रो खेलमा आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

गोल्डेन जुब्ली स्टेडियम, युपियामामा खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ । यी दुवै टोली यसअघि नै समूह बीबाट सेमिफाइनल प्रवेश गरिसकेका छन । यो खेलको विजेता टोली समूह विजेता बन्नेछ ।

यसअघि भारतले श्रीलंकालाई ८-० र नेपालले पनि श्रीलंकालाई ५-० ले पराजित गरेका छन । यस समूहबाट श्रीलंका बाहिरिएको छ । नेपाल र भारत एक खेलअगाबै अन्तिम चारमा प्रवेश गरेका थिए । श्रीलंकाविरुद्ध नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्ष्छु थापाले गोल गरेका थिए ।

साफ अन्डर नाईन्टिन च्याम्पियनसिपमा भारत सबैभन्दा सफल टोली हो । उसले तीन उपाधि जितेको छ । सन् २०१५ बाट सुरू भएको प्रतियोगितामा सुरूवाती दुई संस्करण जितेको नेपाल त्यसयता उपाधिविहीन छ ।

समूह ए बाट साविक विजेता बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ । आज सवा ४ बजे हुने भुटान र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको पनि टुंगो लाग्नेछ ।