सबालेन्का इटालियन ओपनको क्वार्टरफाइनलमा प्रवेश

वैशाख ३०, २०८२ |खेल ब्युरो
सबालेन्का इटालियन ओपनको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । बेलारूसी टेनिस स्टार आर्यना सबालेन्का इटालियन ओपनको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन । रोममा भएको खेलमा उनले युक्रेनी खेलाडी मार्टा कोस्ट्युकलाई सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाइन् ।

विश्व नम्बर १ सबालेन्काले २७औँ वरीयताकी कोस्ट्युकलाई ६-१ र ७-६ को स्कोरमा पराजित गरेकी हुन् । यो खेल दुई घण्टा पाँच मिनेटसम्म चलेको थियो । खेलको दोस्रो सेट टाइब्रेकसम्म पुगे पनि सबालेन्काले अनुभव र धैर्यताका साथ खेल जितिन् ।

यसअघि पनि सबालेन्काले मड्रिड ओपनको क्वार्टरफाइनलमा कोस्ट्युकलाई दुईवटा टाइब्रेक सेटमा हराएकी थिइन् । यसपटक भने उनले पहिलो सेटमा पूर्ण नियन्त्रण कायम गर्दै सहज जित हात पारिन् ।

अब सबालेन्का सेमिफाइनल प्रवेशका लागि चीनकी आठौँ वरियताकी खेलाडी चिनवेन झेङसँग प्रतिस्पर्धा गर्नेछिन् । यो भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

झेङले पनि पछिल्ला चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन । सबालेन्काले हालसम्मको प्रतियोगितामा प्रभावशाली लय देखाएकी छन । उनी उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएकी छन ।