बी डिभिजन लिग : मध्यपुरले श्री कुमारीलाई सहजै हरायो

वैशाख २७, २०८२ |खेल ब्युरो
बी डिभिजन लिग : मध्यपुरले श्री कुमारीलाई सहजै हरायो

ललितपुर । सहिद स्मारक 'बी' डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले श्री कुमारी क्लबविरुद्ध सहज जित हात पारेको छ । आज सम्पन्न खेलमा मध्यपुरले श्री कुमारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा मध्यपुरका लागि विक्रन श्रेष्ठ, प्रज्वल थापामगर र सन्तोष गोङ्बाले समान १-१ गोल गरे । श्री कुमारीका लागि निशान्त प्रधानले एक गोल फर्काए ।

मध्यपुरले खेलको सुरुवातमै अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमै विक्रनले गोल गरेका थिए । युवराज ढकालको क्रसमा विक्रनले सानदार गोल गरेका हुन् । 

२६औं मिनेटमा मध्यपुरले अग्रता दोब्बर पार्‍यो । युवराजले नै प्रहार गरेको कर्नरलाई श्री कुमारीका डिफेन्टरहरुले क्लियर गर्न नसक्दा प्रज्वलको ब्याक हिल प्रहारले जाली चुमेको थियो ।

पहिलो हाफमा २-० ले पछि परेको कुमारीका लागि निशान्तले ८६औं मिनेटमा गोल गर्दै पुनरागमनको प्रयास गरेका थिए । तर, इन्जुरी समयमा सन्तोषले गोल गर्दै मध्यपुरको जित सुनिश्चित गरे । जितसँगै १० खेलमा ११ अंक जोडेको मध्यपुर ११औं स्थानमा उक्लिएको छ । पराजित कुमारी समान खेलबाट १३ अंकका साथ सातौं स्थानमा छ ।