छैटौं जुम्ला रारा अल्ट्रा म्याराथन सुरू, ५९१ जना खेलाडी सहभागी

वैशाख २७, २०८२ |डीबी बुढा
छैटौं जुम्ला रारा अल्ट्रा म्याराथन सुरू, ५९१ जना खेलाडी सहभागी

जुम्ला । कर्णाली प्रदेशको जुम्लामा छैटौं जुम्ला रारा अल्ट्रा म्याराथन सुरू भएको छ । सदरमुकाम खलंगाको बालमन्दिर नजिकैदेखि म्याराथन सुरू भएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सिटी फुकेर म्याराथनको उद्घाटन गरेका हुन् ।

म्याराथनमा ५ सय ९१ जना धावकले भाग लिएको आयोजक कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयाे । जुम्लादेखि रारा तालसम्मको ५१ किलोटिमर दुरीमा सुरू भएको म्याराथन विहान साढे ६ बजेदेखि सुरू भएको हो । 

जुम्ला रारा अल्ट्रा म्याराथनमा ४ जना विदेशी खेलाडी समेत सहभागी छन । त्रिभुवन आर्मी क्लबबाट २ जना धावकसमेत आएको खेलकुद क्लब जुम्लाले जनाएको छ ।

पोल्याण्ड, अमेरिका, फ्रान्स, र भारतका गरेर ४ जना धावकले भाग लिएका हुन् । जुम्ला रारा अल्ट्रा म्याराथन अन्र्तगत ५ किलोमिटर र १० किलो मिटरको दौड समेत भएको छ । ५ किलोमिटरमा १५५ जना र १० किलोमिटर दौडमा ३५५ जना सहभागि भएक छन ।

नेपालको पाँचथर,काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायतका १० जिल्लाबाट समेत खेलाडीहरू जुम्ला आइपुगेका छन । खालीपाटन, चौथा, डाब, चुचेमारा बेस क्याम्प, चुचेमाराको टपमा चेक प्वाइन्ट राखिएको छ । म्याराथनमा देविदत्त गण जुम्लाले स्वयवसेवकको भुमिका निभाइरहेको छ ।

खलंगाको बालमन्दिर देखि चेरे, खाली, न्याउरीघाट, चौथा, डाब, चुचेमारा हुँदै राराताल पुग्ने मार्ग तय भएको छ । म्याराथनमा २८ लाख भन्दा धेरै रकम लाग्ने अनुमान आयोजकले गरेको छ ।

खेलकुदका माध्यमबाट कर्णालीको पर्यटकीय सुन्दरताको उजागार गर्ने हेतुले हरेक वर्ष म्याराथनको आयोजना हुने गरेको छ । जुम्ला रारा म्याराथन एउटा इभेन्ट मात्र नभएर खेलाडी उत्पादन गर्ने माध्यम बनेको विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले बताउनुभयाे । 

धावक धाविकलाई पञ्चेबाजा बजाएर बिदाई गरिएको थियो । म्याराथनमा खेलाडीको हौसलाका लागि गाउँबस्तीदेखि स्थानीयबासिन्दाहरू सदरमुकाम खलंगा आइपुगेका हुन् ।

म्याराथनमा प्रथम हुनेले एक लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार रुपैया“ नगद, प्रमाणपत्र र मेडल पाउने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयाे ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।