ए डिभिजनको सँघारमा प्लानिङ ब्वाइज युनाइटेड, जसले बी डिभिजनमा मच्चाइरहेछ तहल्का

वैशाख २६, २०८२ |फायज होदा
ए डिभिजनको सँघारमा प्लानिङ ब्वाइज युनाइटेड, जसले बी डिभिजनमा मच्चाइरहेछ तहल्का

काठमाडौं । नेपाली फुटबलको सबैभन्दा माथिल्लो प्रतियोगिता ए डिभिजन लिग खेल्न सबै फुटबल क्लबको चाहना हुन्छ । तर, त्यहाँसम्म पुग्न त्यसअघि दुई वटा ढोका पार गर्नुपर्छ । त्यो हो- सी र बी डिभिजन लिग । धेरै नयाँ क्लब बर्षौंदेखि ए डिभिजन पुग्ने सपना साँचेर बसे पनि अहिलेसम्म सी डिभिजनमै अल्झेर बस्नुपरेको छ । तर, बी डिभिजन खेलिरहेको प्लानिङ ब्वाइज युनाइटेड एउटा यस्तो टिम हो, जो सन् २०१२ मा स्थापना भएर १३ वर्षमै सी डिभिजन हुँदै अहिले बी डिभिजनमा तहल्का मच्चाइरहेको छ ।

काठमाडौंको पेप्सीकोलामा १३ वर्षअघि स्थापना भएको फुटबल क्लब प्लानिङ ब्वाइज अहिले नेपाली फुटबलकै शीर्ष डिभिजन पुग्ने सँघारमा छ । मनाङ मर्स्याङ्दी र चर्च बोइज युनाइटेडजस्तै प्लानिङ ब्वाइज पनि छोटो समयमै नेपाली फुटबलमा उल्लेखनीय उचाइ हासिल गर्न सफल देखिन्छ । 

एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक बी डिभिजन लिगका १०औं चरणका खेल सम्पन्न हुँदा प्लानिङ ब्वाइज अपराजित छ । १० खेलमा ८ मा जित र २ बराबरी खेल्दै प्लानिङ ब्वाइज २४ अंकका साथ अग्रपंक्तिमा छ । प्रतियोगिताको शीर्ष २ टिम ए डिभिजनमा बढुवा हुन अब तीन चरणका खेल मात्रै पर्खिनुपर्नेछ ।

प्लनिङ ब्वाइजको यात्रा छोटो भए पनि प्रेरणादायी छ । सन् २०२१ को सी डिभिजन छनोट जितेर नेपाली फुटबल पिरामिडमा प्रवेश गरेको प्लानिङ ब्वाइज डेब्यू सिजनमै सी डिभिजन च्याम्पियबन बन्यो । 

बी डिभिजनमा उक्लिएपछि क्लबले नयाँ अनुबन्ध गर्‍यो र टोलीको सन्तुलन जस्ताको तस्तै रह्यो । सी डिभिजनदेखि बीमा बढुवा गराएका क्लबका प्रशिक्षक सचिन्द्र धिमाल हालको सफलताको श्रेय तयारी, लगानी र आत्मविश्वासलाई दिन्छन् । यसैकारण उसले बी डिभिजनमा पनि तहल्का मच्चाएको हो । ऊ दोस्रो स्थानको श्री भगवती क्लबभन्दा २ अंकले अघि छ ।

सी डिभिजनमा सर्वाधिक गोल गरेका फागुराम थारु जारी बी डिभिजन लिगका टप स्कोरर हुन् । १० खेलमा ८ गोल गरेका थारु आफ्नो अठोटमा खरो उत्रिएका छन् । उनी क्लबलाई ए डिभिजनसम्म पुर्‍याउन  लक्ष्यमा छन् ।

त्यसैगरी, सिनियर खेलाडी प्रताप सिंह टिमको राम्रो तालमेल र स्थायित्वले नै सफलता दिलाएको बताउँछन् ।

प्लानिङ ब्वाइजको निरन्तर प्रदर्शन, अपराजित यात्रा र दिगो लक्ष्यले अब टोलीलाई ए डिभिजनको नजिक ल्याइसकेको छ । अब बाँकी खेलमा पनि यस्तै प्रदर्शन दोहोर्‍याउन सके, क्लबले नेपाली फुटबलमा अर्को सफलता हात पार्नेछ ।


Image

फायज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्