सहिद स्मारक ए डिभिजन लिग पुस १ गते गर्ने एन्फाको घोषणा

वैशाख २६, २०८२ |खेल ब्युरो
सहिद स्मारक ए डिभिजन लिग पुस १ गते गर्ने एन्फाको घोषणा

काभ्रे । सहिद स्मारक ए डिभिजन लिगको ४६औं संस्करण आउँदो पुष १ गते सुरु हुने भएको छ । काभ्रेमा आज सम्पन्न एन्फाको साधारणसभाले एक अर्ब ५६ करोडको बजेटसहित वार्षिक क्यालेन्डर पारित गरेसँगै ए डिभिजन लिग यो वर्ष आयोजना हुने भएको हो ।

एन्फाले शीर्ष डिभिजनको लिगलाई ६ महिना गर्ने भएको छ । यो लिग पुषमा सुरु भएर जेठमा सक्ने क्यालेन्डरमा उल्लेख छ । त्यसैगरी, सी डिभिजन छनोट जेठदेखि साउनसम्म आयोजना गरी, सी डिभिजन लिग पुषमा सुरु गर्ने एन्फाको क्यालेन्डरमा उल्लेख छ । 

एन्फाले गत वर्षको भन्दा २५ करोड बढाएर वार्षिक बजेट सार्वजनिक गरेको छ । फिफा र एएफसीले गत वर्ष दिएको र खर्च नभएको पूर्वाधार खर्च पनि जोडिएकाले बजेट बढेको हो । 

त्यसैगरी, एन्फाले नेपाल सुपर लिगका लागि असोज, कार्तिक र मंसिरको समय प्रदान गरेको छ । यसअघिका साधारणसभामा उल्लेख गरिँदै आए पनि आयोजना हुन नसकेको राष्ट्रिय लिगको मिति फेरि घोषणा गरिएको छ । यसलाई आगामी साउनदेखि असोजमा राखिएको छ । 

आउँदो जेठमा एन्फा प्रेसिडेन्ट लिग आयोजना गर्ने क्यालेन्डरमा उल्लेख छ । त्यसैगरी, एन्फाले आयोजना गर्न नसकेको ए डिभिजन क्लब सहभागी हुने लिग कम नकआउट प्रतिायेगिता पनि क्यालेन्डरमा छ । 

एन्फाले महिला लिगको छनोट असारमा गर्ने योजना बनाएको छ भने महिला लिग भदौदेखि मंसिरसम्म गर्ने भएको छ । बी डिभिजनका लागि यो वर्षको अन्तिममा मिति तोकिएको छ । ए डिभिजन लिगकै समयमा सी र बी डिभिजन लिगसमेत राखिएको छ । 

यसै वर्षको मंसिरमा फेरि एन्फा कप च्याम्पियनसीप राखिएको छ । त्यसैगरी, फुटसल लिग साउनमा गर्ने तालिका साधारण सभामा पारित भएको छ । यो वर्ष परुषतर्फका चार र महिलातर्फका तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउनेछ ।