काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकको रूपमा राजेन्द्र तामाङलाई नै निरन्तरता दिएको छ । प्रो-लाइसेन्स प्राप्त प्रशिक्षकको खोजीमा रहेको एन्फाले थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोट २०२६ का लागि तामाङलाई नै प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एन्फाले वैशाख ८ गते दर्खास्त आह्वान गर्दै ३० दिन अर्थात् जेठ ६ गतेसम्म निवेदन दिने गरी प्रो-लाइसेन्स प्राप्त प्रशिक्षकको माग गरेको थियो । दर्खास्त दिने मिति सकिन १२ दिन बाँकी रहँदा तामाङलाई नियुक्तिपत्र दिइएको हो । तामाङको प्रशिक्षणमा नेपालले वाफ महिला च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेसन्स कप खेलेको थियो । नेपाल तीन वटै प्रतियोगितामा उपविजेतामा सीमित भएको थियो ।
नेपालले बैंककमा जेठ १६ र १९ गते दुई वटा मैत्रीपूर्ण खेल खेल्ने छ । अस्ट्रेलियामा हुने एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । असार १५ गते लाओससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।
यस्तै सहायक प्रशिक्षकमा भगवती थापा, गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा तथा टिम म्यानेजरको रूपमा वृन्दा देवकोटाले पनि निरन्तरता पाएका छन् । त्यस्तै, लक्ष्मी भट्टराईलाई टिमको फिजियोथेरेपिस्टमा नियुक्त गरिएको छ ।