काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा साविक विजेता कोलकाता नाइट राइडर्स,चेन्नई सुपर किंग्ससँग दुई विकेटले पराजित भएको छ । यो हारपछि कोलकाताको प्ले अफ पुग्ने संभावना लगभग समाप्त भयो ।
इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । दोस्रो ओभरमा अन्सुल कम्बोजले ओपनर रहमानुल्लाह गुरबाजलाई ११ रनमा आउट गर्दै चेन्नईलाई पहिलो सफलता दिलाएका थिए ।
सुनिल नारायणलाई नुर अहमदले २६ रनमा मैदान बाहिर पठाए । अंगक्रिस रघुबंशी मात्र एक रनमा पभेलियन फर्किए । उनी पनि नुरकै शिकार भएका हुन् । इनिङस सम्हालिरहेका कप्तान अजिंक्य रहाणेलाई ४८ रनमा रविन्द्र जडेजाले आउट गरेपछि चेन्नई खेलमा फर्किएको थियो ।
आक्रमक देखिएका आन्द्रे रसल ३८ रनमा आउट भए । मनिष पान्डे ३६ रनमा अविजीत रहे । पथिरानाले चार ओभरमा ३९ रन खर्चिए । नुरले ३१ रन दिएर चार विकेट हात पारे । जवाफमा चेन्नईले १९ ओभर चार बलमा आठ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
खराब सुरुवात गरेको चेन्नईले दुवै ओपनरलाई शुन्यमा गुमाएको थियो । आयुष म्हात्रे र डेवोन कन्वेले खाता खोल्न सकेनन् । रविचन्द्रन आश्विन पनि आठ रनमा आउट भएपछि चेन्नई दबाबमा आएको थियो । जडेजाले पनि १९ रन मात्र बनाउन सके । चेन्नइ ६० रन ५ विकेटको स्थितिमा थियो । छैटौं विकेटका लागि शिभम दुवे र डवल्ड ब्रेभिसले ४१ वलमा ६७ रनको साझेदारी गर्दै इनिङस सम्हाले ।
ब्रेभिसले २५ बलमा ५२ रनको योगदान गरे । दुबेले ४५ रन थपे । कप्तान महेन्द्र सिंह धोनीले अविजीत १७ रन जोड्दै म्याच फिनिस गरेका हुन् । यसअघिनै प्ले अफ दौडबाट बाहिरी सकेको चेन्नइको यो १२ खेलमा तेस्रो जित हो ।
कोलकाताका लागि भने प्ले अफ आश जीवितै राख्न यो खेल जित्नै पर्ने थियो । कोलकाता १२ खेलबाट ११ अंक जोड्लै तालिकाको छैटौं स्थानमा छ । आईपीएलमा आज पंजाव किंस र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।