साउदी प्रो लिगको उपाधि नजिक पुग्याे अल इत्तिहाद

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिगको उपाधि नजिक पुग्याे अल इत्तिहाद

काठमाडौं । अल इत्तिहाद साउदी प्रो लिगको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा इत्तिहादले अल नासारमाथि ३-२ गोलको पुनरागमन जित हात पारेको हो । शीर्ष स्थानको इत्तिहाद अन्तिम समयमा दश खेलाडीमा समेटिएको थियो ।

रियाद स्थित अल अवाल पार्कमा नासारले सुरूवाती अग्रता जोगाउन सकेन । खेल सुरू भएको तेस्रो मिनेटमै साडियो मानेले गोल गरेपछि नासार १-० ले अघि रहेको थियो । ३७औं मिनेटमा सेनेगल अन्तराष्ट्रियकै सहयोगमा एइमन याहाले गोल गरे । 

पहिलो हाफमा २-० गोलले पछि परेको इत्तिहाद ब्रेकपछि उत्कृष्ट देखियो । ४९औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै नासारसंगको दुरी कम गरेका थिए । ५२औं मिनेटमा एंगोलो कान्टेले बराबरी गोल फर्काए । इन्जुरी समयमा हुसेम औवारले गोल गरेपछि नासार स्तब्ध भएको हो । अन्तिममा मौसा डिबाय रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । जितपछि इत्तिहादले अंक तालिकामा ६ अंकको अग्रता लिएको छ । 

शीर्ष स्थानमा रहेको उसको ३० खेलबाट ७१ अंक छ । दोस्रो स्थानको अल हिलालको ६५ अंक छ । नासार ६० अंक सहित चौथों स्थानमा छ । यो हारले नासारलाई अर्को सिजनको एशीयन च्याम्पियन्स लिग एलिटमा छनौट हुन कठिन भएको छ । 

अल आलीले यो सिजनको उपाधि जितेपछि अब साउदी प्रो लिगबाट मात्र दुई टिम छनौट हुनेछन् । अर्को खेलमा अल हिलालले अल राइदमाथि ५-३ गोलको जित हात पार्यो । 

उसका लागि सलिम अल्दासरीले ह्याट्रिक गरे । ३२औं मिनेटमा पाहुना टिमका लागि अलेक्जान्दर मिट्रोभिचले गोल गरेका थिए । ४१औं मिनेटमा सलिमले हिलमलको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा घरेलु टिम राइदका करिम एलले गोल गर्दै दुरी कम गरे । 

५९औं मिनेटमा सलिमले ब्यक्तिगत दोस्रो गोल गरे । ६८औं मिनेटमा करिमले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । ६६औं मिनेटमा माल्कमले गोल गरेपछि अल हिलाल पुन अघि रह्यो । ७८औं मिनेटमा सलिमले ह्याट्रिक पुरा गरे । इन्जुरी समयमा सलेह अल अमिरीले पेनाल्टीमा गोल गरेपनि हिलालको जितमा अरि परेन।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.