काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन-पिएसजी युएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजीले सेमीफाइनलमा आर्सनललाई समग्रमा ३-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा गएराति भएको दोस्रो लेगमा पिएसजीले आर्सनलमाथि २-१ गोलको जित हात पार्यो । सुरूवाती दश मिनेटभित्र पिएसजी गोलकिपर डोनारूम्माले आर्सनलका दुई सशक्त प्रहारको बचाउ गरेका थिए ।
तेस्रो मिनेटमा डेकन राइसको हेडर बाहिरिदा आर्सनल अग्रता लिनबाट चुकेको थियो । डोरूम्माले गाब्रिएल मार्टिनेली र मार्टिन ओडेगार्डको प्रहारलाई सफल हुन दिएनन् ।
इमिरेट्समा भएको पहिलो लेगमा १-० गोलले पछि परेको आर्सनललाई पिएसजीले पुनरागमनको अवसर दिएन् । २७औं मिनेटमा फाबियन रूइजले डेडलक तोडे । लगत्तै आर्सनल गोलकिपर डाविड रायाले पिएसजीका ब्राड्ली बार्कोलालाई गोल गर्नबाट रोकेका थिए ।
पहिलो हाफमा पिएसजी अग्रता लिन सफल भयो । ६३औं मिनेटमा बुकायो साकाले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ६९औं मिनेटमा रायाले भिटिन्ह्याको पेनाल्टी रोक्दै आर्सनलको आशा जगाएका थिए ।
तर ७२औं मिनेटमा असरफ हकिमीले गोल गरेपछि पिएसजी बलियो स्थितिमा पुगेको थियो । ७६औं मिनेटमा साकाले गोल गरेपनि आर्सनलका लागि पर्याप्त भएन । बाँकी समयमा अग्रता जोगाउँदै यो सिजन च्याम्पियन्स लिगको सबैभन्दा युवा टिम पिएसजीले फाइनलमा स्थान सुरक्षित गर्यो ।
लुइस इनरिकेको टिमलाई यो पटक उपाधिमाथि ह्याट्रिक गर्ने अवसर छ । घरेलु लिगको उपाधि जिति सकेको पिएसजीले फ्रेन्च कपको फाइनलमा रिम्ससंग खेल्नेछ । पहिलो च्याम्पियन्स लिग उपाधिको खोजीमा रहेको पिएसजीले अब इटालियन क्लब इन्टर मिलानसंग प्रतिस्पर्धा गर्नेछ ।
सिरी आ साइड मिलानले सेमीफाइनलमा बार्सीलोनालाई सात ६ गोलले स्तब्ध पारेको हो । युरोपियन प्रतिस्पर्धामा पिएसजी र इन्टर अहिलेसम्म आमने सामने भएका छन् । सन १९९३ यता पहिलो पटक फ्रेन्च र इटालियन क्लबबीच च्याम्पियन्स लिगको फाइनल हुन लागेको हो । फाइनल मे ३१ को राति हुनेछ ।