काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ अन्तर्गत आज पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन् । हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको धर्मशाला मैदानमा खेल राति पौने ८ बजे सुरू हुनेछ । सन् २०२३ मा यही मैदानमा दिल्लीले पञ्जाबलाई १५ रनले हराएको थियो ।
यो सिजनमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध खेल्न लागेका हुन् । पञ्जाबले आफ्नो पछिल्लो खेलमा लखनऊलाई ३७ रनले पराजित गरेको थियो । अर्कोतर्फ, दिल्लीको हैदराबादविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।
हाल दुबै टोली प्लेअफको होडमा छन । श्रेयस अय्यरको नेतृत्वमा रहेको पञ्जाबले ११ मध्ये ७ खेल जितेर १५ अंक बनाएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । पञ्जाबले यो खेल जिते लिगको शीर्ष स्थानमा पुग्नेछ । अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले ११ खेलमा ६ जितसहित १३ अंक जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ ।
प्लेअफमा पुग्नका लागि पञ्जाबले बाँकी ३ मध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ भने दिल्लीलाई आफ्ना सबै तीन खेलमा जित आवश्यक हुनेछ । एक खेमा पनि पराजित भए उसको प्लेअफ सम्भावना अन्य टिमको नतिजामा भर पर्नेछ ।
आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच ३३ पटक भिडन्त भएको छ । जसमा पञ्जाबले १७ खेल र दिल्लीले १६ खेल जितेका छन ।
पञ्जाबका ओपनर प्रभसिमरन सिंहले ४ सय ३७ र कप्तान श्रेयस अय्यरले ४ सय ५ रन बनाइसकेका छन । प्रियांश आर्या ३४७ रनसहित तेस्रो स्थानमा छन । डेथ ओभरमा आक्रमण गर्न शशांक सिंह र नेहल वधेरा जस्ता फिनिशरहरू टोलीमा छन ।
अर्शदीप सिंह ११ खेलमा १६ विकेट लिएका हुन् । युजवेन्द्र चहलले यस सिजनको एकमात्र हैट्रिक लिएका छन भने ११ खेलमा १४ विकेट लिइसकेका छन ।
दिल्ली क्यापिटल्सतर्फ केएल राहुल उत्कृष्ट र्फममा छन । उनले १० खेलमा ३८१ रन बनाएका छन । अभिषेक पोरेलले ११ खेलमा २ सय ६५ रन बनाएका छन । बलिङान मिचेल स्टार्कले ११ खेलमा १४ विकेट लिएका छन । कुलदीप यादवले १२ विकेट आफ्नो नाममा गरेका छन ।
मौसमले आजको खेलमा असर पुर्याउने सम्भावना छ । मौसम विभागले ६५ प्रतिशत वर्षाको पूर्वानुमान गरेको छ । आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहने छ । जितले पञ्जाबलाई प्लेअफमा नजिक पुर्याउनेछ भने हारले दिल्लीको प्लेअफको सम्भावना कठिन बन्नेछ ।