काठमाडौं । भारत र पाकिस्तानबीच द्वन्द्व बढेपछि नेपालले भारतसँगको सीमा क्षेत्रमा गस्ती र सुरक्षा जाँच बढाएको छ । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि सशस्त्र प्रहरी बलले आफ्नो सीमा क्षेत्रमा ३१२ पटक गस्ती गरेको छ ।
अवैधरूपमा शंकास्पद व्यक्ति नेपाल प्रवेश गर्न सक्ने र सुरक्षा चुनौती थपिने भन्दै हिजो मात्रै केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय सुरक्षा परिषद्ले सीमा क्षेत्रको सुरक्षामा विशेष निगरानी राख्नुपर्ने समीक्षा गरेको थियो ।
पछिल्लो ४८ घण्टामा सशस्त्र प्रहरीले ३१२ पटक गस्ती, १ हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेर सुरक्षा सतर्कता अपनाएको हो । सशस्त्र प्रहरी बलले समकक्षी भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि समन्वय गरेर संयुक्त गस्ती गरिरहेको छ ।
नेपाल-भारत आवतजावत गर्नेहरूको परिचयपत्र हेर्ने र अभिलेख राख्न सुरु भइसकेको छ । भारतसँग सीमा जोडिएका २४ जिल्लामै उच्च निगरानी राखिएको सशस्त्रले जनाएको छ ।
सशस्त्रले भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रवेश गर्न सक्ने मधेश प्रदेश अन्तर्गतका भित्री बाटो, पश्चिमको कैलाली, कञ्चनपुर लगायतका जिल्लामा जनशक्ति थप गरेरै गस्ती बढाइएको छ ।