काठमाडौं । परराष्ट्र मन्त्रालयले आतंकवादविरुद्धको लडाइँमा नेपाल साथमा रहेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने बताउँदै आतंकवादविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाएको हो ।
कश्मीरको पहलगाममा गत २२ अप्रिलमा भएको पर्यटकलक्षित आतंकवादी हमलामा एक नेपालीको समेत ज्यान गएको उल्लेख गर्दै मन्त्रालयले उक्त अवधिमा समेत आतंकी हमलाको भर्त्सना गरेको बताएको छ ।
मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार चिन्तित भएको पनि बताएको छ । यस्तै मन्त्रालयले क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्ध रहेको जनाउँदै भारत र पाकिस्तानबीच जारी तनावको शृंखला मत्थर हुने आश पनि गरेको छ ।