काठमाडौं । नेपाल आर्मीले फाइनल खेलमा गण्डकी प्रदेशलाई २-० गोलले पराजित गर्दै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ। च्यासल रंगशालामा आज सम्पन्न फाइनल खेलमा आर्मीले सुरुआतदेखि नै आक्रामक रणनीति अपनाउँदै गण्डकीलाई दबाबमा राखेर उपाधि जितेको हो ।
दोस्रो क्वार्टरको २२ औं मिनेटमा राजेन्द्र कार्कीले पहिलो गोल गर्दै सेनालाई अग्रता दिलाए । त्यसपछि ४३ औं मिनेटमा अम्बरबहादुर गुरुङले दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । गोलकिपरदेखि डिफेन्स लाइनसम्म उत्कृष्ट समन्वय देखाएर सेनाले क्लिन सिटसहित फाइनल जितेको हो ।
फाइनल खेलको प्लेयर अफ द म्याच राजेन्द्र कार्की घोषित भए । आर्मीलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाकै देवसिंह धामी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । यसअघि आजै भएको पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल प्रहरीले एपीएफलाई ३-० को स्पष्ट अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पार्यो । प्रहरीका लागि शंकर घर्तीमगरले तेस्रो र ५७ औं मिनेटमा गोल गरे । त्यसैगरी मिलन तामाङले ३० औं मिनेटमा एक गोल थपेका थिए ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ एपीएफका पवन माओ उदीयमान खेलाडी घोषित भए भने नेपाल सेनाका रञ्जित राउत उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट गोलरक्षक गण्डकीका जोशन राई बने । प्रतियोगिताका उत्कृष्ट स्कोरर नेपाल सेनाका काशिराज राई र राजेन्द्र कार्की रहे, दुवैले ६-६ गोल गरेका थिए ।