आधुनिक नर्सरी बनाएर वार्षिक दुई करोडको फलफूलका बिरुवा बिक्री

वैशाख २५, २०८२ |वरुण पनेरू
आधुनिक नर्सरी बनाएर वार्षिक दुई करोडको फलफूलका बिरुवा बिक्री

डडेल्धुरा । डडेल्धुराको भागेश्वरका किसानले आधुनिक नर्सरी बनाएर वर्षमा दुई करोड रुपैयाँ बराबरका सुन्तला, जुनार, कागती र अमिलो लगायत फलफूलका बिरुवा बेच्ने गरेका छन् । सुन्तला जातका फलफूलका बिरुवा बिक्रीबाट मात्रै गाउँमा ठूलो रकम भित्रिने गरेको हो ।

भागेश्वर-४ सिराडका नवराज भट्टले चार महिनामै झन्डै ४० लाख रुपैयाँको सुन्तला जातका फलफूलका बिरुवा बेच्ने गर्नुहुन्छ । उहाँ वैशाखदेखि साउनसम्म सुन्तलाको बिरुवामात्रै १ लाखभन्दा बढी बेच्ने गर्नुहुन्छ । त्यसबाहेक जुनार, कागती र अमिलो लगायत फलफूलका बिरुवा २० लाख रुपैयाँ बराबरको बेच्ने गर्नुभएको छ । करिब एक करोडको लगानीमा उहाँले हाइब्रिड नर्सरी बनाउनुभएको छ । 

१४ रोपनीमा सुन्तला, कागती र अमिलोका बीउबाट उमारेका र कलमी बिरुवा उमार्नुहुन्छ । उहाँको एक दर्जनभन्दा बढी आधुनिक टनेलसहितको नमुना नर्सरी छ । सुन्तला जातका बिरुवा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री हुन्छ ।

भागेश्वर गाउँपालिका- ४ का ६ जनाले छुट्टाछुट्टै आधुनिक नर्सरी बनाएर सुन्तला, जुनार, कागती र अमिलो लगायत फलफुलका बिरुवा बेच्ने गरेका छन् । भागेश्वरबाट मात्रै वार्षिक २ करोड रुपैयाँ बराबरका बिरुवा बिक्री हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । विदेश जानुभन्दा कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायमा लाग्नु राम्रो हुने यसमा लागेका किसान बताउँछन् ।

किसानलाई खेती प्रविधिमा तालिम तथा सीप अभिवृद्धि गर्न समेत सुन्तला तथा अन्य फलफूलका बिरुवाका यस्ता आधुनिक नर्सरी उपयोगी बनेका छन् । किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीँको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएका छन् । यस्ता नर्सरीमा आधुनिक प्रविधिबाट रोग किरामुक्त बिरुवा हुन्छन् ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।