चैनपुर । ललितपुर महानगर र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आफ्नो प्रतिनिधिमण्डलसहित चैनपुर पुग्नुभएका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन, ऐतिहासिक र प्राकृतिक सुन्दरले भरिपूर्ण केन्द्रको रूपमा चैनपुर नगरपालिका रहेको छ । भगिनी सम्बन्धपछि दुवै पालिकाका असल अभ्यासहरू आदान प्रदान गर्न सहज हुने बताउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बध अत्यन्तै महत्त्वपूर्ण भएको बताउँदै मितेरी सम्बधले दुःख सुख साटासाट गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब हामी एकै परिवारको भयौं । ललितपुर र चैनपुर दूरीको हिसाबले टाढा भएपनि आत्मीय भयौं, मन मिल्यो ।” भगिनी सम्बन्ध कायम भएका पालिकाहरूलाई योजना दिएको बताउँदै उहाँले चैनपुरको विकासको लागि ललितपुर महनगर पनि तयार रहेको भन्नुभयो ।
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आउनुभएकोमा खुशी व्यक्त गर्नुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने उहाँको भनाइ थियो ।
चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले भगिनी सम्बन्धले चैनपुरको विकासलाई थप उचाइ दिने बताउनुभयो ।