काठमाडौं । नेपाली कला, संस्कृति, भाषा, साहित्य र चलचित्र उद्योगलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित थर्ड आई लिमिटेडले लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरेको छ । संस्थाका अध्यक्ष विकास देवकोटाका अनुसार, यो महोत्सव नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुग्ने ऐतिहासिक अवसर हुनेछ ।
महोत्सवमा नेपाली समाज, संस्कृति र मुलुकको कथा बोकेका चलचित्रहरू लन्डनमा प्रस्तुत गरिने देवकोटाले बताउनुभयो । अध्यक्ष देवकोटाले भन्नुभयो, “यसले नेपाली चलचित्र उद्योगको विकास र विस्तार मात्र होइन, नेपाली भाषा र सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।”
महोत्सवको अर्को उद्देश्य प्रवासी नेपाली समुदायलाई समकालीन नेपाली चलचित्रहरूको प्रवृत्ति, विषयवस्तु र प्रस्तुतीकरणको शैलीबारे अवगत गराउनु पनि हो । साथै, नयाँ दृष्टिकोण बोकेका चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म नेपाली चलचित्रको पहुँच विस्तार गर्ने उद्देश्य लिइएको छ ।
महोत्सवमा सहभागी हुन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्नेछ, अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्नेछ । हालसम्म विश्वभरबाट ३९८ वटा आवेदन प्राप्त भइसकेका छन् । तीमध्ये जुरी (निर्णायकहरू) ले १० उत्कृष्ट चलचित्र छनोट गर्नेछन्, जसमा ३ वटा नेपालमै निर्माण भएका चलचित्रहरू हुनेछन् ।
चयन गरिएका चलचित्रहरू यूकेका विभिन्न शहरमा र विभिन्न डिजिटल प्लेटफर्महरूमा समेत प्रदर्शन गरिनेछ ।
समापन समारोहमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन् । नेपाली चलचित्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मानपत्र प्रदान गरिनेछ । सहभागी चलचित्रकर्मीहरूमा सन्तोष पन्त, विपना थापा, दिनेश डीसी, धिरेन शाक्य, मोहन निरौला, रवीन्द्र खड्का, नीति शाह, सुवानी मोक्तान, एलिस कार्की, सुवास भुसाल, प्रताप दास, आश्मा विश्वकर्मा र राजेश बर्देवा लगायतका विशिष्ट व्यक्तित्वहरू रहेका छन् । समारोह १८ मेमा शुभारम्भ भई ३१ मेमा समापन हुनेछ ।