काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलको ५१औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हराएको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा पाहुना टोली हैदराबादले टस जितेर पहिले बलिङ रोजेको थियो ।
यससँगै पहिले ब्याटिङमा आएको गुजरातले विस्फोटक सुरुआत गरेर ६ विकेट क्षतिमा २ सय २४ रन जोड्यो । गुजरातका ओपनर साई सुदर्शन र सुभ्मन गीलले पावर प्लेमा नै अविजित ८२ रन बनाए । ९ चौका प्रहार गरेका सुदर्शनले २३ बलमा ४८ रन बनाए । त्यसैगरी, जस बटलरले ६४ रनको योगदान गरे । वासिङ्टन सुन्दरले २१ रन बनाए । हैदराबादका जयदेव उनादकटले ३ विकेट लिनुबाहेक बाँकी बलरले कसिलो बलिङ गर्न सकेनन् ।
जवाफमा हैदराबादले ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्रै बनाउन सक्यो । ओपनर ट्रेभिस हेड र अभिषेक शर्माले मात्रै लामो साझेदारी गरे । ४ ओभर ३ बलमा हेड व्यक्तिगत २० रनमा प्रसिद कृष्णको सिकार भए । अभिषेकले ४१ बलमा ७४ रनको योगदान गरेका थिए ।
त्यसैगरी, इशान किसनले १३ र हेनिरिच क्लासेनले २३ रन बनाए । नितिशकुमार रेड्डीले २१ रन जोडे। प्याट कमिन्सले अन्तिममा १९ रन बनाए पनि आफ्नो टिमलाई जीतसम्म पुर्याउन सकेनन् ।
हैदराबाजलाई जीतसम्म पुग्न नदिन गुजरातका मोहम्मद सिरज र कृष्णले समान दुई-दुई विकेट लिए । गएरातिको हारसँगै अंक तालिकाको छैटौं स्थानमा रहेको हैदराबाद अब प्ले अफ दौडमा कमजोर बनिरहेको छ । यता, गुजरातलाई भने अब शीर्ष चारमा रहन कम्तिमा दुई जीत मात्रै आवश्यक छ ।