काठमाडौं । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोली (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा शाहको मृत्युबारे भारतको राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले ओडिशाका मुख्य सचिव र प्रहरी महानिर्देशकलाई पत्र लेख्दै नेपाली छात्राको मृत्युबारे छानबिन गर्न भनेको हो । आयोगका सदस्य प्रियंक कानुनगोले घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानको प्रतिवेदन आएपछि आवश्यक परेमा आफ्नो टोली घटनास्थलमा जानसक्ने बताउनुभयो ।
यसअघि पनि आयोगले गत फागुनमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको घटनामा केआईआईटी विश्वविद्यालयलाई दोषी ठहर गर्दै विश्वविद्यालय अनुदान आयोग (युजीसी) लाई कारबाही गर्न निर्देशन दिएको थियो ।
विश्वविद्यालयले उच्च अदालत ओडिशामा मुद्दा दायर गरेपछि अदालतको आदेशले उक्त कारबाही रोकिएको र आयोगलाई जवाफका लागि बोलाएको मानवअधिकार आयोगका सदस्य कानुनगोले जानकारी दिनुभयो ।
बिहीबार भएको प्रिसाको मृत्युबारे छानबिन गर्न विश्वविद्यालय अनुदान आयोगले समेत चार सदस्यीय तथ्यांक संकलन समिति गठन गरेको छ ।
इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयका उपकुलपति नागेश्वर रावको संयोजकत्वमा गठित समितिलाई घटनाको पृष्ठभूमि अध्ययन गर्ने, विद्यार्थी सुरक्षासम्बन्धी नियमहरू पालना भए नभएको जाँच गर्ने र यस्ता घटना रोक्न आवश्यक उपायहरू सुझाउने कार्यभार तोकिएको छ ।