म्याड्रिड ओपन टेनिसको उपाधिका लागि बेलायतका ड्रेपर र नर्वेका रुडबीच प्रतिस्पर्धा हुने

वैशाख २०, २०८२ |खेल ब्युरो
म्याड्रिड ओपन टेनिसको उपाधिका लागि बेलायतका ड्रेपर र नर्वेका रुडबीच प्रतिस्पर्धा हुने

काठमाडौं । स्पेनको म्याड्रिडमा जारी म्याड्रिड ओपन टेनिस प्रतियोगिताको फाइनलमा बेलायतका पाँचौं वरीयताका ज्याक ड्रेपर र नर्वेका क्यास्पर रुडबीच उपाधिको प्रतिस्पर्धा हुने भएको छ ।

गए राति सम्पन्न सेमिफाइनलमा ड्रेपरले इटालीका दशौं वरीयताका लोरेन्जो म्युसेट्टीलाई सोझो सेटमा पराजित गर्दै सन् २०२५ को तेस्रो फाइनलमा स्थान पक्का गरेका हुन् । 

उनले पहिलो सेटमा ६-३ ले जिते भने दोस्रो सेट ७-६ मा टाई भएको थियो । त्यसपछि उनले टाई ब्रेकमा ७-४ को जित हासिल गरे । एटिपी मास्टर्स एक हजार स्तरको यो दोस्रो फाइनल हो, जहाँ ड्रेपरले यसअघि मार्चमा इन्डियन वेल्स उपाधि जितेका थिए । 

गएराति नै भएको अर्को सेमिफाइनलमा नर्वेका १४औं वरीयताका क्यास्पर रुडले अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई सोझो सेटमै पराजित गर्दै म्याड्रिड ओपनको फाइनलमा स्थान बनाए । उनले ६-४, ७-५ को जित हासिल गरे । छातीको चोटबाट ग्रस्त रहेका रुडले प्रतियोगिताभरि कुनै पनि सेट गुमाएका छैनन् ।