काठमाडौं । इङ्लिस प्रिमियर लिग इपिएलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई १-० ले पराजित गरेको छ । घरेलु इमिरेट्स रंगशालामा भएको खेलमा केभिन डि ब्रुएनाले निर्णायक गोल गर्दै सिटीलाई तेस्रो स्थानमा पुर्याएका हुन् ।
खेलको सुरुवातमा वुल्भ्सले दबाब सिर्जना गरेको भए पनि गोल गर्ने राम्रो अवसर गुमायो । जीन रिक्नर बेलगार्डले सिधै प्रहार नगरी पास दिने प्रयास गरेको बलमा मार्शल मुन्तेसीले समयमै बल नछोएपछि मौका खेर गयो । रायन एइत-नुरीको प्रहार पोस्टमा लागेर फर्किँदा, जोस्को ग्भार्डिओलले गोल लाइनमै क्लियर गरे ।
मिडफिल्डर डि ब्रुएनाले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरिसकेका छन् । उनलाई अहिले अमेरिकी एमएलएस क्लबबाट प्रस्ताव आइरहेको रोयटर्सले जानकारी दिएको छ । गएरातिको खेलमा उनले जेरेमी डोकुको लो क्रसमा पहिलो हाफमा पहिलो टचमै गोल गर्दै सिटीलाई जित दिलाए ।
दोस्रो हाफमा पनि वुल्भ्सले आक्रमण जारी राख्यो । मथिउस कुन्ह्वाको प्रहार पोस्टमा ठोक्कियो तर उनले गोल गर्न सकेनन् । यस हारसँगै वुल्भ्सको लगातार ६ खेलको जित यात्रा टुंगिएको छ । म्यानचेस्टर सिटी भने अब छैटौं स्थानमा रहेको नटिङ्घम फरेस्टभन्दा चार अंकले अघि पुगेको छ । गएराति नै भएको अर्को खेलमा ब्रेन्टफर्डले नटिङ्घम फरेस्टलाई २-० ले हराएको थियो । लिगमा आज राति चार खेल हुँदैछन् ।