काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल २०२५ अन्तर्गत ५२औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किङ्स आमने-सामने हुँदैछन् । यो खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा आज साँझ पौने ८ बजे सुरु हुनेछ ।
दुवै टोली यस सिजन दोस्रो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् । पहिलो भेटमा बैंगलुरुले चेन्नईलाई उसैको मैदानमा ५० रनले हराएको थियो । बैंगलुरु हालसम्म १४ अङ्कसहित दोस्रो स्थानमा छ । आजको खेल जिते ऊ पहिलो स्थानमा पुग्नेछ र प्लेअफ चरणनजिक पुग्नेछ।
चेन्नई भने ४ अङ्कसहित तालिकाको पुछारमा छ । यो टोली जारी सिजन प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनिसकेको छ । बैंगलुरु र चेन्नईबीच अहिलेसम्म आईपीएलमा ३५ खेल भएका छन् । तीमध्ये २२ खेलमा चेन्नई र १२ खेलमा बैंगलुरु विजयी भएका छन् भने एक खेल नतिजा बिहीन भएको थियो ।
चिन्नास्वामी रंगशालामा यी दुई टोलीबीच ११ पटक प्रतिस्पर्धा भएको छ । त्यसमध्ये दुवैले ५-५ खेल जितेका थिए भने एक खेल नतिजाविहीन भएको थियो ।
बैंगलुरुको पछिल्लो खेलमा विराट कोहलीले ५१ रन र क्रुणाल पण्ड्याले अविजित ७३ रन बनाएका थिए । टोलीमा लियम लिभिङ्स्टन, जितेश शर्मा र क्रुणाल पण्ड्याजस्ता टी-२० खेलमा दक्ष खेलाडीहरू छन् । तीव्र गतिका बलर जोश हेजलवुडले १० खेलमा १८ विकेट लिँदै शानदार प्रदर्शन गरिरहेका छन् ।
चेन्नईले पछिल्ला तीन खेल लगातार गुमाएका कारण यो टोली फर्ममा छैन । टोलीका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी स्पिनर नूर अहमद हुन्, जसले १५ विकेट लिएका छन् । ब्याटिङमा शिवम् दुबेले १० खेलमा २ सय ४८ रन बनाएर टोलीका प्रमुख रनकर्ता बनेका छन् ।
बैंगलुरुको चिन्नास्वामी रंगशालाको पिच प्रायः ब्याटिङमैत्री रहन्छ । यद्यपि स्पिनरहरूले पनि केही सहायता पाउने सम्भावना छ । अहिलेसम्म यहाँ ९९ खेल भएका छन् । तीमध्ये पहिलो ब्याटिङ गर्ने टोलीले ४२ पटक र लक्ष्य पछ्याउने टोलीले ५३ पटक जित निकालेका छन् । त्यसैले टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने सम्भावना बढी हुन्छ ।
यो मैदानमा अहिलेसम्मको सबैभन्दा ठूलो योगफल ३ विकेट क्षतिमा २ सय ८७ रन हो । जुन हैदरावादले अघिल्लो सिजनमा बैंगलुरुविरुद्ध बनाएको थियो ।
आज बैंगलुरुको मौसम अस्थिर रहनेछ । दिउँसो केही समय घाम लागे पनि साँझपख बादल लाग्नेछ र केही ठाउँमा वर्षाको सम्भावना छ । तापक्रम २२ देखि ३४ डिग्री सेल्सियसबीच रहनेछ भने हावाको गति प्रतिघण्टा १३ किलोमिटर रहने अनुमान गरिएको छ ।
आइपिएलका खेल तपाईंले कान्तिपुर म्याक्स एचडीमा पनि प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।