काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले यूएफा युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिक बिलबाओविरुद्ध ३-० गोल अन्तरको जित हात पारेको छ ।
पहिलो हाफमै १० खेलाडीमा सिमित भएको घरेलु टोली बिलबाओलाई युनाइटेडले उसकै घरमा पराजित गर्यो । ३०औं मिनेटमा हृयारी म्याग्वायरको क्रसमा कासेमिरोले हेडर गोल गर्दै डेडलक तोडे । त्यसको ५ मिनेटपछि भिएआर समीक्षाले रास्मुस होइलुनमाथि ड्यानी भिभियनले फउल गरेको देखायो । भिभियन रातो कार्ड पाउँदा बिलबाओ १० खेलाडीमा सिमित भयो ।
युनाइटेडले पेनाल्टीको अवसर पायो । कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा सहजै गोल गरे । ४५औं मिनेटमा म्यानुएल उगार्टेले दिएको पासमा फर्नान्डेजले अर्को गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो ।
रुबेन अमोरिमको टोलीले दोस्रो हाफमा पनि आक्रमक फुटबल खेल्यो तर थप गोल गर्न सकेन । यससँगै ओल्ड ट्राफोर्डमा हुने दोस्रो लेगअघि युनाइटेडले ३ गोलको फराकिलो अग्रता बनाएको छ । सेमिफाइनलको दोस्रो लेग ९ मेमा खेलिनेछ ।