काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको नभएको बताउनुभएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउँछ भन्ने अपेक्षा गरेपनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा निरन्तरताकै लागि आएको जस्तो देखिएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भएपनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गर्नुभयो । उहाँले जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नसमेटिएको बताउनुभयो ।
उहाँले यो नीति तथा कार्यक्रमले नागरिकमा आशा नजगाउने दाबी गर्नुभयो ।