नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल : खेलकुदलाई निजी क्षेत्रको उत्तरदायित्व कार्यक्रमसँग जोडिने

वैशाख १९, २०८२ |खेल ब्युरो
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल : खेलकुदलाई निजी क्षेत्रको उत्तरदायित्व कार्यक्रमसँग जोडिने

काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणमा नीजी क्षेत्रसँग सहकार्य गरिने छ।

शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा खेलकुदले गत वर्षको भन्दा कमै प्राथमिकता पाएको छ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा राष्ट्रिय अन्तर्राराष्ट्रिय खेलकुदको प्रतियोगिताको आयोजना गर्ने, संघ, प्रदेश, स्थानीय तह र खेल संघको आयोजनामा स्पोट्स स्कुल कार्यक्रम गर्ने, विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडी प्राेत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

रंगशालालगायत पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागीता सुनिश्चित गर्न कानुनी व्यवस्था मलाइने छ। खेलकुदलाई निजी क्षेत्रको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमसँग जोडिने बताइएकाे छ। 

त्रिवी मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने छ। अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरूको सन्तानलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।

गत वर्षको नीति तथा कार्यक्रममै समावेश भएका मौलिक एवम् परम्परागत खेलहरूको प्रवद्र्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिताको आयोजना गर्ने, दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र इ-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिताबारे यो वर्ष नीति तथा कार्यक्रममा भने समावेश छैनन्। तर, यो आर्थिक वर्षमा आयोजना नभएपछि दशौं राष्ट्रिय खेलकुद महत्वका साथ समावेश गरिनु पर्ने थियो।