इङ्लिस प्रिमियर लिग : ब्रेन्टफोर्टले नटिङ्घम फरेस्टलाई २-० ले स्तब्ध पार्‍यो

वैशाख १९, २०८२ |खेल ब्युरो
इङ्लिस प्रिमियर लिग : ब्रेन्टफोर्टले नटिङ्घम फरेस्टलाई २-० ले स्तब्ध पार्‍यो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले प्रभावशाली जित हात पार्दै नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा स्थान बनाउने आशामा ठूलो झट्का दिएको छ ।

एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको मात्र चार दिनपछि मैदानमा उत्रेको फरेस्ट २-० गोल अन्तरले स्तब्ध भएको हो ।

पहिलो हाफको अन्त्यतिर फरवार्ड केभिन साडेले पोस्ट नजिकैबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा सुस्त देखिएको फरेस्टले दोस्रो हाफमा गतिमा सुधार ल्यायो र ब्रेन्टफोर्डको रक्षापंक्तिलाई दबाब दिन थाल्यो । 

विङ्गर एन्थोनी एलाङ्गाले बाक्सभित्रबाट उत्कृष्ट प्रयास गरे पनि गोलकिपर मार्क फलेक्केनले सानदार बचाउ गरे । क्रिस वुडले राम्रो अवसर पाए पनि ६ गजको दूरीबाट हेड गर्दा बल पोस्टमा रहन सकेन ।

खेलको ७०औं मिनेटमा ब्रेन्टफोर्डले काउन्टर अट्याकमा गोल गर्‍यो । योन विस्साले चिप गर्दै बललाई पोस्टको दिशा दिए ।

यो हारसँगै ६० अंक रहेको फरेस्ट छैटौं स्थानमा कायमै छ । लिगमा ४ खेल बाँकी रहँदा ऊ तेस्रो स्थानमा रहेको न्युक्यासलभन्दा केवल दुई अंकले पछि छ । ब्रेन्टफोर्ड ११ औं स्थानमा छ । उसको ३४ खेलमा ४९ अंक छ ।



सम्बन्धित